निर्वाचनको सुरक्षाका लागि सातै प्रदेशमा खटिए एआईजी, संवेदनशील क्षेत्रमा एसएसपी


काठमाडौं – निर्वाचनको सुरक्षाका सात वटै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खटिएका छन्। २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि एआईजीलाई सातै प्रदेशमा खटाइएको नेपाल प्रहरीका प्रवक्ता अबि नारायण काफ्ले बताउँछन्। निर्वाचन सुरक्षा चुस्त पार्नका लागि प्रहरी प्रधान कार्यालय तथा विभिन्न विभागहरूमा रहेका सात एआईजीलाई प्रदेश कमाण्डमा खटाइएको उनले बताए। कोशी प्रदेशमा मानव स्रोत विभागका एआईजी राजन अधिकारीलाई खटाइएको छ। यस प्रदेशका (प्रहरी नायव महानिरीक्षक) डिआईजीमा विनोद घिमिरे छन्। 

त्यस्तै मधेश प्रदेशमा एआईजी डम्बर विकलाई पठाइएको छ। उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए। डीआईजी गोविन्द थपलिया छन्। बागमती प्रदेशको कमाण्ड गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी सिद्धिविक्रम शाहलाई पठाइएको छ। बागमती प्रदेश प्रहरी कार्यालयको प्रमुख भने डीआईजी दीपक रेग्मी छन्। गण्डकी प्रदेशमा भने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत एआईजी डा.मनोज केसीलाई पठाइएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख भने डीआईजी दीपेन्द्र जिसी छन्।

त्यस्तै लुम्बिनी प्रदेशमा कार्य विभागका प्रमुख उमा प्रसाद चतुर्वेदीलाई खटाइएको छ। यो प्रदेशको प्रहरी प्रमुख भने भूपेन्द्र बहादुर खत्री छन्। कर्णाली प्रदेशमा अपराध अनुसन्धान विभागका एआईजी सुशील सिंह राठौरलाई खटाइएको छ। यो प्रदेशका प्रहरी प्रमुख भने जयराज सापकोटा हुन्। साथै, सुदूरपश्चिम प्रदेशको कमाण्ड गर्न प्रशासन विभागका प्रमुख हिमालय कुमार श्रेष्ठलाई पठाइएको छ। यो प्रदेशको प्रहरी प्रमुख भने ओम बहादुर राना हुन्। भने, उपत्यकाका तीन जिल्लाको कमाण्ड गर्ने एआईजी ईश्वर कार्कीले गर्नेछन्।

उपत्यकाबाट १२ हजार ७०० सय थप टोली खटिएका छन्। देशभर गरेर ३३ जना एसएसपी, ४६ जना एसपी १२९ डिएसपी, ४३० जना इन्स्पेक्टर खटाइएको प्रवक्ता काफ्ले बताउँछन्। यस निर्वाचनका लागि ६३८ जना माथिल्ला तहका प्रहरी अधिकृतहरू खटिएका छन्। साथै, उपत्यकाका तीन जिल्लामा थप ५ जना एसएसपी १५ जना एसपी गरी थप ३० जना प्रहरी खटिएका छन्। संवेदनशील जिल्लाहरूमा निर्वाचन सुरक्षाको एसपीहरूलाई जिम्मा दिइएको छ। 

त्यस्तै, झापा, इलाम, सर्लाही, रौतहट, दोलखा, काभ्रे, सिन्धुपाल्चोक र रुपन्देही लगायतका जिल्लामा निर्वाचन सुरक्षाको कमाण्ड एसएसपीले गर्ने भएका छन्। सबै भन्दा धेरै संवेदनशील मानिएको झापामा एसएसपी गोविन्द अधिकारीलाई झापामा खटाइएको छ। उनले झापा र इलामको कमाण्ड गर्नेछन्। झापाको जिल्ला प्रहरी प्रमुख भने एसपी वसुन्धरा खड्का छिन् । काभ्रे र सिन्धुपाल्चोकका कमाण्ड गर्ने गरी विनोद सिलवाललाई पठाइएको छ। साथै, रुपन्देही र कपिलवस्तु कमाण्ड गर्ने गरी ऋषिराम कँडेललाई खटाइएको छ। निर्वाचनका लागि नेपाल प्रहरीले सबै ठाउँमा प्रहरी परिचालन गरिसकेको छ।

सीमा नाकाको क्षेत्रमा पनि विशेष टोलीहरू खटिएका छन्। संयुक्त चेकिङ, सप्राइज चेकिङ, प्रहरीका आधुनिक प्रविधिहरूको प्रयोग गरेर समेत सीमा नाका चेकिङ गरिने योजना गरिएको उनी बताउँछन्। प्रहरीले निर्वाचनमा ७२ घण्टा सीमाशील गर्ने समेत भएको छ। सीमाबाट आपराधिक गतिविधि नहोस् भन्ने हेतुले सुरक्षा मजबुत बनाइएको छ।