ओटिसी बजारमा डेढ अर्बको कारोबारः होटल फरेस्ट इन अग्रस्थानमा, इसेवा १७० रुपैयाँमै किनबेच


काठमाडौं – नेपाल स्टक एक्सचेन्जमा सूचीकरण नभएका कम्पनीहरूको ओभर द काउन्टर (ओटिसी) बजार दोस्रो त्रैमाससम्म उत्साहजनक देखिएको छ। चालु आर्थिक वर्षको यो अवधिसम्म २५ कम्पनीको कुल एक अर्ब ४७ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। उपलब्ध विवरणअनुसार एक करोड २६ लाख ९७ हजार ४८८ कित्ता शेयर किनबेच भएको छ। उत्पादन, होटल, जलविद्युत, ब्रोकर तथा लगानी कम्पनीहरूमा लगानीकर्ताको उल्लेखनीय सक्रियता देखिएको छ।

सबैभन्दा ठूलो कारोबार होटल फरेस्ट इन लिमिटेडको भएको छ। कम्पनीको १७ लाख ४० हजार कित्ता शेयर २१ करोड ६२ लाख ६५ हजार रुपैयाँभन्दा बढीमा किनबेच भएको छ। प्रतिकित्ता मूल्य करिब १२४ रुपैयाँ कायम भएको थियो। त्यसैगरी, बुढानीलकण्ठ हेरिटेज लिमिटेडको करिब २३ लाख कित्ता शेयर १७ करोड ३९ लाख रुपैयाँमा कारोबार भएको छ।

ऊर्जा क्षेत्रमा पनि उल्लेखनीय गतिविधि देखिएको छ। इलेक्ट्रो पावर कम्पनी लिमिटेडको १४ लाख कित्ता शेयर १४ करोड १४ लाख रुपैयाँमा किनबेच भएको छ भने सानिमा हाइड्रोपावर लिमिटेडको ९ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सर्वोत्तम स्टिल लिमिटेडको शेयर विभिन्न मितिमा गरी १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको देखिन्छ।डिजिटल सेवा प्रदायक इसेवा लिमिटेडको प्रति कित्ता १७० रुपैयाँ १८ पैसाका दरले दुई लाख ९२ हजार ६ सय कित्ता सेयर किनबेच भएको छ।

ओटिसी बजारमा शेयर ब्रोकर र क्यापिटल कम्पनीहरूमा पनि सक्रियता देखिएको छ। अनलाइन सेक्युरिटिज लिमिटेडको ९ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने प्रोपर्टी विजार्ड लिमिटेडको ७ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। यस अवधिमा केही कम्पनीको शेयर मूल्यमा उल्लेखनीय वृद्धि पनि देखिएको छ। उदाहरणका लागि, आदर मल्टि इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य दुई वर्षमा ९१ रुपैयाँबाट बढेर १३२ रुपैयाँ पुगेको छ।