टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ फागुन २७ गतेदेखि आउदै


काठमाडौं – टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले फागुन २७ गतेदेखि आईपीओ निष्काशन बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात् प्रतिशेयर १०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये प्रतिशेयर १०० रुपैयाँ दरका १२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। उक्त आईपीओमा भोजपुर जिल्लाका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ३ हजार ६७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, त्यस्तै, १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषहरुका लागि र कम्पनीका कर्मचारीहरुका लागि ६० हजार ६१३ कित्ता निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा चैत ११ गते हुनेछ भने ढिलोमा चैत २६ गते हुनेछ र त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गते हुनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजना कार्यालय, भोजपुर, प्रभु बैंकको भोजपुर, प्याउली, हटुवागढी र सिटिजन्स बैंक इन्टरनेशनलको भोजपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।