व्यावसायिक यात्राको भरपर्दो सारथी बन्दै बैंक कर्जा


काठमाडौं – कुनैपनि व्यवसायको सपना सोचबाट मात्रै पूरा हुँदैन, त्यसका लागि चाहिन्छ पूँजी। यही पूँजी व्यवस्थापनको प्रमुख माध्यमका रूपमा पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू उद्यमीहरूको भरोसायोग्य सहयात्री बन्दै गएका छन्। साना उद्यमदेखि ठूला पूर्वाधार परियोजनासम्म, व्यावसायिक यात्रामा बैंक कर्जा अब विकल्प मात्र होइन, आवश्यकता नै बनेको छ। २०७८ सालपछिका आर्थिक उतारचढाव, कोभिडपछिको पुनरुत्थान, बजार विस्तारको चाहना र प्रतिस्पर्धात्मक वातावरणले व्यवसायलाई थप पूँजीमुखी बनाएको छ। नयाँ व्यवसाय सुरु गर्न होस् वा सञ्चालनमा रहेको उद्योग विस्तार गर्न, बैंक कर्जा बिना गति लिन कठिन देखिन्छ। यही कारण बैंक तथा वित्तीय संस्थाहरूले पनि पछिल्लो समय व्यवसायिक कर्जालाई प्राथमिकतामा राख्दै आएका छन्।

७० प्रतिशतसम्म फाइनान्सिङ, उद्यमीलाई सहजता

नयाँ व्यवसाय सुरु गर्दा प्रारम्भिक लगानी नै सबैभन्दा ठूलो चुनौती हो। बैंकहरूले व्यावसायिक कर्जामा ७० प्रतिशतसम्म फाइनान्सिङ उपलब्ध गराउँदै आएकाले उद्यमीहरूले सीमित आफ्नै पूँजीबाट पनि ठूलो योजना अघि बढाउन सक्ने अवस्था बनेको छ। यसले विशेषगरी साना तथा मझौला उद्यमीलाई व्यवसाय विस्तारमा हौसला दिएको छ। यद्यपि, राजनीतिक अस्थिरता, आर्थिक मन्दी र बेलाबेलामा हुने आन्दोलनले व्यवसायीको मनोबलमा असर पारेको छ। यसको प्रभाव बैंकिङ लगानीमा समेत देखिएको छ। हाल बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप ७७ खर्ब रुपैयाँ नाघेको छ भने कर्जा प्रवाह करिब ५८ खर्ब रुपैयाँ पुगेको छ। तरलता पर्याप्त भए पनि कर्जा माग अपेक्षाकृत सुस्त देखिन्छ।

सहज बन्दै कर्जा प्रक्रिया

पहिलेको तुलनामा अहिले बैंकबाट कर्जा लिनु सहज बन्दै गएको छ। बैंकहरूले प्रारम्भिक चरणमै कर्जाको प्रयोजन, व्यवसाय योजना र आवश्यक कागजात स्पष्ट रूपमा माग गर्ने भएकाले प्रक्रिया व्यवस्थित र छिटो हुने गरेको छ। धितो मूल्यांकन, कागजात प्रमाणीकरण र स्वीकृति प्रक्रिया पनि क्रमशः पारदर्शी र डिजिटल हुँदै गएको छ। नबिल बैंकका चिफ बिजनेस अफिसर टेकराज भट्ट का अनुसार आवश्यक कागजात पूरा भएमा ७ देखि ९ दिनभित्र ऋण स्वीकृत गरी खातामा रकम जम्मा गर्ने अभ्यास बढ्दै गएको छ। ‘कर्जा प्रक्रियालाई छरितो र ग्राहकमैत्री बनाउने दिशामा बैंकहरू अघि बढिरहेका छन्,’ उनले भने।

ब्याजदर र बेस रेटको सम्बन्ध

बैंक कर्जाको लागत निर्धारणमा ‘बेस रेट’ मुख्य आधार हो। बैंकको लागत घटे बेस रेट घट्छ र त्यसअनुसार कर्जाको ब्याजदर पनि कम हुन्छ। पछिल्लो समय बैंकिङ्ग प्रणालीमा पर्याप्त तरलता रहेकाले ब्याजदर एकल अंकमा झरेको छ, जसले व्यवसायीलाई राहत दिएको छ। यद्यपि, ब्याजदरमा हुने उतारचढावप्रति व्यवसायी सचेत देखिन्छन्। कर्जा लिएपछि त्यसको प्रभावकारी सदुपयोग गर्न सके मात्र व्यवसायमा वृद्धि र प्रतिफल सुनिश्चित हुने बैंकरहरूको सुझाव छ।

मानसिकता बदलिँदै

अझै पनि केही व्यवसायी बैंकबाट ऋण लिनुलाई ‘ऋणको बोझ’ का रूपमा हेर्छन्। तर आधुनिक अर्थतन्त्रमा कर्जा ‘लेभरेज’ अर्थात् व्यवसाय विस्तारको साधन हो। योजनाबद्ध लगानी, स्पष्ट व्यवसाय रणनीति र वित्तीय अनुशासन भएमा बैंक कर्जा जोखिम होइन, सफलताको इन्धन बन्न सक्छ। परिवर्तित आर्थिक परिवेशमा बैंक तथा वित्तीय संस्थाहरू केवल ऋणदाता होइनन्, व्यवसायिक यात्राका साझेदार बन्दै गएका छन्। चुनौतीका बीच पनि अवसर खोज्ने उद्यमीका लागि बैंक कर्जा अब भरपर्दो सारथीका रूपमा उभिएको छ।