काठमाडौं – राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारमा सहयोग गर्ने समर्थकलाई धन्यवाद दिँदै सहयोग रकम रोकिदिन आग्रह गरेकी छिन्। साम्बाले आफ्नो उपचारको लागि आर्थिक सहयोग माग्दै साेमबार सामाजिक सञ्जालमा एक पोष्ट गरेकी थिइन्।
नेपालको बैक खातामा एक करोडभन्दा बढी रकम र विदेशी प्लेटफर्ममा ४५ लाख रुपैयाँ जम्मा भएपछि साम्बाले दुबै अकाउन्टमा सहयोग रकम रोकिदिन अनुरोध गरेकी हुन्। उनले सामाजिक सञ्जालमार्फत धन्यवाद दिँदै पोष्ट गरेकी छिन्।
यस्तो छ उनले सामाजिक सञ्जालमा राखेकी पाेस्टः
आदरणीय समर्थकहरू,
आज ‘धन्यवाद’ शब्द निकै सानो लागेको छ। पछिल्लो २४ घण्टामा मेरो उपचारका लागि जुन साथ, विश्वास र माया मैले पाएको छु, त्यो शब्दले वर्णन गर्न सक्दिन। आर्थिक रुपमा त यहाँहरुले मेरो उपचारका लागि लाग्ने खर्च जुटाइदिनु भयो नै, मैले पाएको साथ र वाचाले मलाई अझ बलियो बनाएको छ। यहि उर्जाले म आफ्नो शल्यक्रिया र पुनस्र्थापनामा शत प्रतिशत मिहिनेत गर्नेछु। खेलाडीका रूपमा मैले आजसम्म कमाएको सबैभन्दा ठूलो सम्पत्ति पैसा र उपाधि होइन, यो माया, भरोसा र समर्थन भन्ने मैले फेरी एकपटक ह्रदयदेखि बुझेको छु। यही नै मेरो वास्तविक कमाइ हो।
मेरो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा करिब ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ। मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघ(संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ। यसले मेरो उपचार खर्च मात्र नभएर, कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ । कतारमा रहनुहुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ। त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु।
म आवद्ध क्लब वेलिंगटन फिनिक्सले पनि शल्यक्रिया र पुनर्स्थापनाका लागि विमा रकम निकासा गरी त्यसमा थप सहयोग गरेर उपचारमा सहजीकरण गरिरहेको छ । चाडैं नै शल्यक्रिया मिति पाएर प्रक्रिया अघि बढ्नेमा विश्वस्त छु। यो चोटले मलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि थकाएको थियो। तर तपाईंहरूको साथले मलाई फेरि उठ्ने साहस दिएको छ। म एक्लो छैन भन्ने विश्वास दिएको छ।
म दृढ संकल्पका साथ भन्छु, म फर्कनेछु। अझ मजबुत भएर फर्कनेछु। पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु। देशको लागि, तपाईंहरूको लागि, र त्यो विश्वासको लागि जसले मलाई अघि बढाएको छ।
मेरो तर्फबाट ‘धन्यवाद’ मात्र पर्याप्त हुँदैन। तपाईंहरूको यो माया र समर्थनको साँचो धन्यवाद भनेको मेरो पुनरागमन हुनेछ। फेरि नेपालको जर्सी लगाएर देशको लागि जित्ने मेरो प्रतिवद्धता हुनेछ।
चाँडै मैदानमा भेटौंला।



About Us
प्रतिक्रिया