कमाण्ड एण्ड स्टाफ तालिमका अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण


काठमाडौं – सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा सञ्चालित कमाण्ड एण्ड स्टाफ कोर्स सि.सं.३२ का तालिमरत १ सय ७ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको सोमबार अवलोकन भ्रमण सम्पन्न भएको छ। अवलोकन भ्रमणमा सहभागी अधिकृतहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले स्वागत गर्दै भ्रमण कार्यक्रम सम्बन्धी जानकारी गराए। 

सो क्रममा सहभागी अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ सेक्सन, डाटा सेन्टर र प्रहरी सङ्ग्रहालय समेतको अवलोकन गरे। अवलोकन पश्चात आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्सेर जबराले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्था, नेपाली सेना र नेपाल प्रहरी बिचको समन्वय र सहकार्यको क्षेत्र, प्रदेश समायोजन लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए।