भोजपुर – भोजपुरका अधिकांश परिवारको आर्थिक आम्दानीको मुख्य आधार वैदेशिक रोजगारी बन्दै आएको छ। वैदेशिक रोजगारबाट प्राप्त आयले यहाँका परिवारको दैनिकी सहज बने पनि आवश्यक जानकारी र सावधानी नअपनाउँदा कतिपय श्रमिक ठगी तथा शोषणमा पर्ने गरेका छन्।
यही अवस्थालाई मध्यनजर गर्दै वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र शोषणरहित बनाउने उद्देश्यले वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जनस्तरसम्म सचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ।
कार्यक्रममार्फत वैदेशिक रोजगारीसम्बन्धी जोखिम न्यूनीकरण र सुरक्षित आप्रवासनका विषयमा जानकारी दिँदै आएको हो। सामीका भोजपुर जिल्ला कार्यक्रम संयोजक कर्ण पुलामीमगरका अनुसार वैदेशिक रोजगारीलाई सुरक्षित र जोखिममुक्त बनाउन जनस्तरमा सचेतना फैलाउने कार्य प्रभावकारी बन्दै गएको छ। ‘वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन गाउँगाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ’, उनले भने।
कार्यक्रमअन्तर्गत आप्रवासी स्रोत केन्द्रमार्फत वैदेशिक रोजगारीसम्बन्धी परामर्श सेवा प्रदान गरिनुका साथै ठगीमा परेका व्यक्तिलाई निःशुल्क कानुनी सेवाका लागि सहजीकरण गरिँदै आएको छ। साथै वैदेशिक रोजगारीका क्रममा अंगभंग भएका वा मृत्यु भएका श्रमिकका परिवारलाई क्षतिपूर्ति प्राप्तिका लागि आवश्यक पहलसमेत गरिँदै आएको छ।
त्यसैगरी विप्रेषणलाई आयमूलक क्षेत्रमा सदुपयोग गर्न वित्तीय साक्षरता कार्यक्रम, मनोसामाजिक परामर्श कक्षा तथा क्षमता अभिवृद्धिका गतिविधि सञ्चालन हुँदै आएको सामी भोजपुरले जनाएको छ।



About Us
प्रतिक्रिया