फागुन १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै शिखर पावर डेभलपमेन्ट


काठमाडौं – शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि सर्वसाधारण लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात् अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ९ लाख ८० हजार कित्ता साधारण शेयर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा भएको विवरण तथा विद्युत उत्पादन अनुमतिपत्रको आधारमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि जारी गरेकाे थियाे।

त्यस्तै, २ लाख २२ हजार कित्ता साधारण शेयर बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र १ लाख ११ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। अब कम्पनीले दोस्रो चरणमा कम्पनीका कर्मचारीहरुका लागि ४४ हजार ४०० कित्ता छुट्याई बाँकी रहेको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबरको १८ लाख ४२ हजार ६०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। सो आईपीओको निष्काशन बन्द छिटोमा फागुन २२ गते र ढिलोमा चैत १ गते हुनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।