काठमाडौं – बीमा भनेको विश्वासमा चल्ने व्यापार हो। बीमा कम्पनीहरूले विश्वास बेचेर दुई पैसा कमाएर कम्पनीका शेयरधनीलाई दिने गर्छन्। भूकम्प, कोरोना, बाढी पहिरोलगायतका समयमा बीमा कम्पनीले दाबी भुक्तानी दिँदै आइरहेका छन्। त्यसैले गर्दा बीमा कम्पनीले दाबी भुक्तानी नै नतिरेको भन्न मिल्दैन। बीमा भनेको सेवा दिनु हो। बीमा कम्पनीले दाबी तिरेर नै सर्वसाधारणको विश्वास जित्ने हो। कसैले पनि काम नहेरी विश्वास गर्दैनन्। बीमा कम्पनीहरूले पनि काम देखाएर नै विश्वास जित्ने गरेका छन्।
कुनै समयमा डकुमेन्टका कारण ढिला हुन सक्छ। त्यसमा पनि साना दाबीहरू छिट्टै भुक्तानी हुन्छ। ठुला दाबीहरूमा केही समय लाग्ने गर्छ। बीमा कम्पनीले दाबीलाई छिट्टो छरितो र सहज बनाउन चाहिँ आवश्यक नै छ। हिमालयन एभरेस्ट इन्स्योरेन्सको हकमा ‘कस्टमर पोर्टल’लन्च गरिएको छ। जहाँ एउटा बीमितले आफ्नो दाबी कहाँ पुग्यो थाहा पाउन सक्छ। त्यसमा कुनै पनि सेवाग्राहीले आफ्नो दाबी नम्बर राख्दा सेवाग्राहीको मोबाइलमा एउटा कोर्ड जान्छ। त्यो कोर्ड ‘कस्टमर पोर्टल’मा राखेपछि दाबी भुक्तानीको प्रक्रिया कहाँ पुग्यो थाहा पाउन सकिन्छ। दाबी रोकिएको भए के कारणले रोकिएको हो पनि थाहा पाउन सकिन्छ।
पुनर्संरचनाभन्दा पनि कम्पनीको ध्यान दाबी भुक्तानीमा हुनुपर्छ। एउटा ग्राहकलाई दाबी भुक्तानी राम्रो गरेमा सो ग्राहकको माध्यमबाट थप १० जना ग्राहक भित्राउन सकिन्छ । यदि १० जनाको विश्वास जितेमा १०० जनालाई कम्पनीको विश्वासका बारेमा बताउनु हुन्छ । त्यसैले बीमा कम्पनीले दाबी भुक्तानीमा नै जोड दिएर काम गर्नुपर्छ।

बीमाको पहुँच नबढ्नु नेपालमा जनचेतना नै कमी भएर हो। आफूले गरेको बीमा ग्राहकले बुझ्न पनि आवश्यक छ। आफूले राम्रो पोलिसी खरिद गरेको छ–छैन बुझ्न आवश्यक छ। साथै, बैंकमा पनि बीमा गरेको छ भने यसो फर्ममा ठिक लगाउन मात्र लगाइन्छ। के बीमा छ ? कस्तो बीमा छ ? भन्ने उनीहरूलाई नै थाहा हुन्न। जेनजी आन्दोलनले बीमाका बारेमा कति कुराहरू सिकाएको पनि छ ।
हरेक बीमा कम्पनीले नियामक निकायसँग मिलेर बीमा सम्बन्धी जनचेतनाका कार्यक्रमहरू गर्न आवश्यक छ। जेनजी आन्दोलनपछि बैंक, कर्पोरेट हाउसहरूलाई र स्कुलहरूबाट बीमा कम्पनीमा जनचेतनाका कार्यक्रमहरू गर्न धेरै आग्रह आएका थिए। त्यसैले धेरै बैंकहरुमा बीमा सम्बन्धी जनचेतनाका कार्यक्रम गरिएको थियो। साथै, नियामक निकायबाट स्कुलहरूको पाठ्यक्रमहरूमा समावेश गर्ने कुरा अघि बढेको छ, जुन धेरै राम्रो विषय हो। सर्वसाधारणलाई बीमा खरिद गर्न सहज गर्न आवश्यक छ। जसका लागि हरेक बीमा कम्पनीहरूले प्राविधिक क्षेत्रमा धेरै काम गर्नुपर्नेछ।

अहिले पनि पुराना नै बीमा पोलिसीहरु छन्। बजार कता गइरहेको छ। विश्व बजारलाई हेरेर सोही किसिमका पोलिसीहरु बनाउन आवश्यक छ। स्कुल तहका पाठ्यक्रममा बिमासम्बन्धी विषयवस्तु राखेर अध्ययन गराउँदा बीमा बुझ्न झनै सहज हुन्छ। बीमकको जिम्मेवारी बीमितलाई बीमाका बारेमा बुझाउनु हो। बीमितको पनि बीमा बारे बुझ्न खोज्नु जिम्मेवारी हो। ट्राभल बीमा भिसा लाग्नका लागि लिने भन्ने गरिन्छ। तर, यस भित्रका विषयमा बीमितले बुझ्न खोजेका छैनन्।
भविष्यमा पर्ने दाबी भुक्तानीका लागि बीमा कम्पनीहरू पछिसम्म पनि रहन्छन्। युभिआई पोलिसी, युजर बेस पोलिसी लगायतका पोलिसीहरु विकास गर्नुपर्छ। ग्राहकहरूको इच्छा अनुरूपको बीमा योजनाहरूको विकास गर्नुपर्छ । जसका लागि सरकार र नियामक निकाय पनि सँगसँगै मिलेर जानुपर्ने हुन्छ। (सीईओ श्रेष्ठले तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२६ को दोस्रो सत्र भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण सत्रमा राखेकाे विचारमा आधारित)





About Us
प्रतिक्रिया