आईटी छात्रवृत्ति कार्यक्रम २०२५ : आठ उत्कृष्ट विद्यार्थी छनोट

टेकस्किल्स इन्स्टिच्युट अस्ट्रेलिया र नेपाल ट्युबको सहकार्य


काठमाडौं – अस्ट्रेलियाको रोजगारीमैत्री तालिम कार्यक्रमका रूपमा परिचित टेकस्किल्स इन्स्टिच्युट अस्ट्रेलिया र नेपाल ट्युबको सहकार्यमा आयोजना गरिएको आईटी छात्रवृत्ति कार्यक्रम नेपाल २०२५ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको अन्तिम चरणबाट उत्कृष्ट प्रदर्शन गरेका आठ जना विद्यार्थी छात्रवृत्तिका लागि छनोट भएका छन्।

जेहेनदार, मेहनती, प्रतिबद्ध तथा आर्थिक सहयोगको आवश्यकता भएका सूचना प्रविधि (आईटी) विषयका विद्यार्थी तथा स्नातकलाई प्रविधि क्षेत्रमा अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा देशभरबाट उत्साहजनक सहभागिता देखिएको थियो।

हजारौँ आवेदनमध्ये पहिलो चरणमा १२० जना विद्यार्थीको अन्तर्वार्ता लिइएको थियो, जसबाट ३२ जना विद्यार्थी छनोट भएका थिए। उक्त अन्तर्वार्ता चरण मंसिर २३ गते सम्पन्न भएको थियो, जहाँ टेकस्किल्स इन्स्टिच्युट अस्ट्रेलियाका संस्थापक बिराज भडेल र प्रबन्ध निर्देशक प्रसन्न श्रेष्ठको उपस्थिति रहेको थियो।

त्यसैगरी, मंसिर २६ गते सम्पन्न दोस्रो चरणको प्रस्तुतीकरण चरणबाट ३२ जनामध्ये १६ जना विद्यार्थी अन्तिम चरणका लागि छनोट भएका थिए। पौष ५ गते आयोजित अन्तिम प्रतिस्पर्धात्मक चरणमा कडा प्रतिस्पर्धापछि सोफिया तामाङ, विवेक अधिकारी, प्रार्थना मिश्र, पुष्पा सुक्ला, रशम शाही, शिशम श्रेष्ठ, सोनिका रिजाल र सुरेश शाही उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष आठ मा छनोट भई आईटी छात्रवृत्ति कार्यक्रम २०२५ का विजेता बनेका हुन्।

कार्यक्रमको विशेष अवसरमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का महासचिव पारस खड्का प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।छनोट भएका शीर्ष आठ विद्यार्थीहरूले अब टेकस्किल्स इन्स्टिच्युट अस्ट्रेलियाको अस्ट्रेलियन मापदण्डअनुसारको १६ हप्ते रोजगारीमैत्री तालिम प्राप्त गर्नेछन्।

उक्त तालिममा व्यावहारिक अभ्यास, विज्ञ मार्गदर्शन, वास्तविक उद्योगसम्बन्धी परियोजना तथा रोजगारीका लागि आवश्यक तयारी सहयोग समावेश रहनेछ। साथै, यस कार्यक्रमअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष दुई विद्यार्थीले अस्ट्रेलियन मापदण्डअनुसारको सूचना प्रविधि रोजगारीका लागि विशेष सहयोग समेत प्राप्त गर्ने आयोजकले जनाएको छ। आयोजकका अनुसार यो कार्यक्रम नेपाली सूचना प्रविधि क्षेत्रका प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरको सीप, अनुभव र रोजगारीको अवसरसँग जोड्ने महत्वपूर्ण पहलका रूपमा रहेको छ।