काठमाडौं – नेपाली बजारमा भारतीय ठुला दरका नोट चलनचल्तीमा ल्याउने सरकारी निर्णय कार्यान्वयनमा अस्वाभाविक ढिलाइ देखिएको छ। २९ मंसिरमा मन्त्रिपरिषद्ले नेपालमा २५ हजार भारुसम्म २ सय र ५ सय दरका नोट भारत–नेपाल लान र ल्याउन पाउने व्यवस्था गरेको थियो। तर, राजपत्रमा प्रकाशित नहुँदा यो व्यवस्था हालसम्म कार्यान्वयनमा आएको छैन।
सरकारले भारतीय ठुला दरका नोटको प्रतिबन्ध हटाएसँगै सन् २०१६ नोभेम्बर ९ देखि निष्कासित नोट मात्र चलनचल्तीमा ल्याउन सकिने व्यवस्था गरेको थियो। नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारु २५ हजार भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरिएको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ।
राजपत्रमा प्रकाशित भएर आएपछि केन्द्रीय बैंकले पनि सार्वजनिक सूचना जारी गरेर यसलाई प्रचलनमा ल्याउने तयारीमा छ। तर, अर्थ मन्त्रालयले भने हालसम्म यसलाई अघि बढाउन सकेको छैन।
यसअघि भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले ठुला दरका भारु नोट नेपाल ल्याउन र लैजान पाउने व्यवस्था गरेको थियो । भारतले खुला गरेपछि नेपाल सरकारले पनि प्रतिबन्ध हटाएको थियो। आरबीआईले विदेशी विनिमय व्यवस्थापन नियमावली २०१५ संशोधन गर्दै ठुला दरका नोट पनि नेपाल भारत ल्याउन र लैजान पाउने व्यवस्था गरेको थियो।
भारतले २०१६ मा ठुला दरका भारु नोटहरूको नोट बन्दी गरेको थियो। त्यसपछि ठुला दरको नोट नेपाल ल्याउन लैजान बन्देज गरेको थियो।
भारतले नेपालमा रहेका ठुला दरका भारु सटही नदिएपछि नेपालले पनि १ सयभन्दा बढीका भारु चलनचल्तीमा बन्देज लगाएको थियो। खुला सीमा तथा व्यापारमा भारतसँगको निर्भरतासँगै दुवैतर्फ लान र लैजान पाउने व्यवस्था गरेको समयमा नेपाल सरकारले पनि त्यसलाई सकारात्मक लिई प्रतिबन्ध खुलाएको हो।



About Us
प्रतिक्रिया