रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं – रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पुस ७ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको आईपीओको बाँडफाँटपश्चात पुस ७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरमा ५७ हजार ७९८ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा रहेको छ अर्थात् लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनुपर्नेछ ।

सर्वसाधारणले न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्तासम्मका लागि आज बैंकिङ्ग समयभित्र आवेदन दिइ सक्नुपर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हालसम्म कम्पनीको सो आईपीओमा २० अर्ब ३४ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । २ करोड ४७ लाख कित्ता शेयरका लागी आवेदन परेको कम्पनीले जनाएको छ ।