प्रहरी हिरासतमै दीपेन्द्र अग्रवालले थाले भोक हडताल


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) का विवादास्पद अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आईपीओ निष्कासनका क्रममा विभिन्न कम्पनीहरूबाट करोडौँ रुपैयाँ घूस बुझेका दाबी गर्दै त्यसको छानबिनको माग गर्दै प्रहरी हिरासतमा रहेका दीपेन्द्र अग्रवालले अनिश्चितकालीन भोक हडताल थालेका छन्। 

सेबोनका अध्यक्ष श्रेष्ठ पछिल्लो समय रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासनका लागि वातावरण बनाएबापत साढे ९ करोड घूस बुझेको प्रकरणमा मुछिएका छन्। ९ करोड ५० लाख घूस रिलायन्सबाट बुझेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अर्थ मन्त्रालयमा श्रेष्ठविरुद्ध थुप्रै उजुरीहरू परेका छन्। 

यस्तै, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी(एनआरएन) को शेयरमा भएको इन्साइडर ट्रेडिङको विषयमा सेबोनबाट भइरहेको छानबिन निस्तेज पार्ने सर्तमा सो कम्पनीको मूल्यमा खेल्ने प्रमुख व्यक्तिहरूबाट ७ करोड रुपैयाँ आफ्ना भतिजमार्फत बुझेका दाबी गर्दै अर्को उजुरी सेबोनकै कर्मचारीबाट अख्तियारमा परेको छ। 

त्यसअघि श्रेष्ठमाथि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले संस्थागत रूपमै विभिन्न कम्पनीको आईपीओ स्वीकृतिअघि बिचौलियाहरू प्रयोग गरी ७ प्रतिशतसम्म कमिसन मागेको सार्वजनिक आरोप नै लगाएको थियो। त्यो विषयमा समेत अख्तियारदेखि अर्थ मन्त्रालयसम्म विभिन्न खालका उजुरीहरू परेका छन्। 

नियुक्तिको एक वर्ष पूरा नहुँदै भ्रष्ट अध्यक्षको छवि बनाएका तिनै सन्तोषनारायण श्रेष्ठको नेतृत्वमा मौलाएको भ्रष्टाचारको विरोध गर्दा आफूलाई पुरानो फाइल खोलेर पूर्वाग्रही ढङ्गले पक्राउ गरिएको भन्दै सेयर लगानीकर्ता तथा चर्चित कारोबारी दीपेन्द्र अग्रवालले सन्तोषनारायणमाथि पनि छानबिन र कारबाही हुनुपर्ने माग गर्दै प्रहरी हिरासतमै भोकहड्तालसहित अनसन थालेका हुन्। 

उनलाई शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोलीले काठमाडाैंकाे चुनदेवी क्षेत्रबाट पक्राउ गरेको थियो। पक्राउ परेको दिनदेखि नै अग्रवालले मुखमा अन्न नहालेका उनकी पत्नीले जानकारी दिएकी छिन्।

उनले धितोपत्र बोर्डले विभिन्न सेयर खेलाडी तथा उनीहरूले चलाएको भित्री कारोबार लगायतका अपराधसँग सम्बन्धित अनुसन्धानका सबै फाइल एक एक खोल्नुपर्ने र दोषीहरूलाई पनि आफूजस्तै गरी थुन्नुपर्ने माग पनि गरेका छन्। 

सेबोनका अध्यक्ष समेत भ्रष्टाचारमा संलग्न रहेकाले त्यसको छानबिन गर्नुपर्ने र बजारमा गलत गर्ने अरूलाई पनि कानुनी दायरामा ल्याउन वर्षौँदेखि लुकाइएका अनुसन्धानका फाइल अगाडि नबढाएसम्म आफूले पानीसम्म पनि मुखमा नहाल्ने अग्रवालले सोमबार घोषणा गरेका छन्।  

नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम्भिक अनुसन्धानका क्रममा जोशी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा भित्री कारोबार गरेको देखिएको भन्दै थप अनुसन्धानका लागि सीआईबीलाई फाइल पठाइएको थियो। सेबोनले आफ्नो अनुसन्धान प्रतिवेदन सीआईबीलाई पठाएको केही दिनमै अग्रवाललाई पक्राउ गरी हिरासतमा राखिएको थियो। सीआईबीलाई फाइल पठाउनुअघि सेबोन अध्यक्ष श्रेष्ठले अग्रवालसँग बार्गेन समेत गरेका अग्रवाल पक्षको आरोप छ।