सीआईबीको अनुसन्धानमा तानिने भएपछि प्रभु बैंकबाट बाहिरिए सञ्चालक श्रेष्ठ


काठमाडौं – प्रभु बैंकको सञ्चालक सुरज कुमार श्रेष्ठले राजीनामा दिएका छन्। बैंकको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सर्वसाधारण शेयरधनीको समूहबाट प्रतिनिधित्व गर्दै आएका श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको हो।

यता, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ्ग कसुरमा बैंकका सीईओ सहित ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सञ्चालक श्रेष्ठले अनुसन्धानमा आफुपनि तानिन सक्ने देखेपछि राजीनामा दिएका हुन् ।

बैंकले नेपाल राष्ट्र बैंकको कानून विपरीत करोडौँ रुपैयाँ कर्जा प्रवाह गरी त्यसको दुरुपयोग भएको प्रारम्भिक अनुसन्धानपछि सीईओसहित ५ जनालाई पक्राउ गरेको हो। सीआईबीको अनुसन्धानअनुसार विभिन्न कम्पनीहरूको नाममा कर्जा प्रवाह गरी अपराध लुकाउने प्रयास समेत भएको पाइएको छ। बैंकलाई ठूलो आर्थिक हानी पुगेको बताइएको छ।

सीआईबीले उक्त मुद्दामा थप अनुसन्धान जारी राखेको र संलग्न अन्य व्यक्तिहरूमाथि समेत अनुसन्धानको दायरा विस्तार गरिरहेको छ । यसैक्रममा सञ्चालक श्रेष्ठले राजीनामा बुझाएका हुन् भने उनकाे राजीनामा पनि स्वीकृत भइसकेकाे छ ।