सीईओसहित उच्च ओहोदाका कर्मचारी समातिएपछि प्रभु बैंकका लगानीकर्ता अन्योलमा


काठमाडौं – बैंकिङ्ग कसुरविरुद्धको मुद्दामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित ३ जना उच्च तहका कर्मचारी पक्राउ परेपछि लगानीकर्ता अन्योलमा परेका छन् । बैंकका लगानीकर्ता अन्यौलतामा डुबेसँगै बैंकको शेयर मूल्यमा आज सामान्य गिरावट आएको छ ।

लामो समयदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा थन्किएर बसेको फाइल खुलेपछि सीईओ शेरचन कार्यालयबाटै पक्राउ परेका थिए । जसको प्रत्यक्ष प्रभाव कम्पनीको शेयर मूल्यमा देखिएको हो । शेरचनसँगै सीआईबीले डेपुटी सीईओ मनिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवाज श्रेष्ठलाई पक्राउ गरेको थियो ।

लगानीकर्तामा अन्यौलताका कारण आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कम्पनीको शेयर मूल्य सामान्य घटबढ भएको छ । पहिलादेखि नै न्यून बिन्दुमा रहेको यो कम्पनीको शेयर मूल्य आज १.५५ प्रतिशतले घटेर प्रतिशेयर मूल्य १९१ रुपैयाँमा कायम भएको छ । यस अघिका कारोबारका दिनहरूमा पनि बैंकको ‘पर्फमेन्स’ सन्तोषजनक थिएन ।

नेप्सेमा कुल २३ करोड ५४ लाख बढी कित्ता शेयर सूचिकृत यस कम्पनीको शेयर मूल्य करिब एक वर्षयता २ सय रुपैयाँबाट उकालो लाग्न सकेको छैन । तथ्यांकअनुसार हाल बैंकको शेयर मूल्य २ सय रुपैयाँबाट घटेर १ सय रुपैयाँको बिन्दुमा आइपुगेको छ । यससँगै लगानीकर्तामा थप त्रास उत्पन्न भई लगानीकर्ताहरू शेयर बेच्न थालेका छन् । आज मात्रै यस कम्पनीको ३ करोड ५१ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ । जसमा किन्नेहरूभन्दा बेच्नेहरूको भिड लागेको थियो ।

यता प्रभु बैंकले लगातार २ वर्षयता लगानीकर्ताको हात खाली बनाउँदै आएको छ । आर्थिक वर्ष २०७९/२०८० देखि २०८०/८१ सम्ममा बैंकले शेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण गरेको छैन । यससँगै बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमास (साउन–असोज) सम्मको वित्तीय विवरण सार्वजनिक गरेसँगै बैंकको वितरणयोग्य मुनाफा ४० करोड ६० लाख रुपैयाँ रहेको छ ।

जसको अर्थ पहिलो त्रैमाससम्म बैंकले आफ्ना शेयरधनीलाई १.७२ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता छ । जुन, नगन्य हो । जबकि अघिल्लो वर्ष यही अवधिसम्म बैंकको लाभांश क्षमता ०.५९ प्रतिशत मात्रै थियो । यता बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४६.३३ प्रतिशतले घटेको छ । पछिल्लो ३ महिनामा बैंकले ५५ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको गर्दा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासमा बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।