भैरहवा राजस्व कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन, चार महिनामा उठायो १ अर्ब १५ करोड


रुपन्देही – भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिकसम्ममा लक्ष्यभन्दा १ अर्ब १५ करोड ७८ लाख ५१ हजार बढी राजस्व संकलन गरेको हो ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलकाअनुसार साउनदेखि कात्तिकसम्म प्रत्येक महिना राजस्वको लक्ष्य प्राप्ति भएको छ । चार महिनामा हामीलाई आन्तरिक राजस्व विभागले दिएको लक्ष्यभन्दा बढी संकलन गर्न सफल भएका छौं । चार महिनामा ४ अर्ब २३ करोड ६८ लाख १४ हजार राजस्व संकलनको लक्ष्य पाएको यो कार्यालयले ५ अर्ब ३९ करोड ४६ लाख ६५ हजार संकलन गर्न सफल भएको छ । यो लक्ष्यको २७ दशमलव तीन प्रतिशतले बढी र लक्ष्यको १२७ दशमलव तीन प्रतिशत संकलन भएको प्रमुख कर अधिकृत पोख्रेलले जानकारी दिए।

‘गत आवको तुलनामा राजस्व संकलन ५१ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । चारै महिना हामीले लक्ष्य हासिल गरेका छौं’, उनले भने। राजस्व संकलनको जम्मा लक्ष्यमा अन्तःशुल्कको ठूलो हिस्सा अर्थात् ८२ दशमलव छ प्रतिशत रहेको उहाँले जानकारी दिए । ‘मूल्य अभिवृद्धि कर, आयकर पनि राम्रै असुली भएको छ । तर ठूलो हिस्सा अन्तःशुल्कको देखिन्छ’, कर अधिकृत पोख्रेलले भने ।

आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले साउनदेखि कात्तिकसम्म ३ अर्ब ५६ करोड दुई लाख ६१ हजार संकलन गरेको थियो । राजस्व असुलीमा एकदमै राम्रो र उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको छ । कार्यालयअन्तर्गतका उद्योगी–व्यवसायी र कर प्रशासनको संयुक्त ‘टिमवर्क’बाट नै यो सम्भव भएको प्रमुख कर अधिकृत पोख्रेलले बताए। आन्तरिक राजस्व कार्यालय भैरहवाअन्तर्गत ६४ हजारभन्दा बढी करदाता छन् ।