दबाब पछि ब्रोकर कमिसन घटाउने तयारीमा धितोपत्र बोर्ड

दबाब पछि ब्रोकर कमिसन घटाउने तयारीमा धितोपत्र बोर्ड


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने तयारी गरेको छ । बोर्डले दुई सातादेखि ब्रोकर कमिसन घटाउने विषयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से), ब्रोकर कम्पनी र लगानीकर्तासँग छलफल गरेको हो । नयाँ ब्रोकर संख्या थपिएपछि बोर्डमाथि ब्रोकर कमिसन घटाउन दबाब बढेको हो । बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले कमिसन घटाउनका लागि अध्ययन समिति गठन भएको बताए । उनले भने, ‘अध्ययन समितिले दुई सातापछि प्रतिवेदन बुझाउने र सोहीअनुसार कमिसन घट्ने हो, अहिले नै कति घटाउने भनेर भन्न सकिन्न ।’ ५० वटा ब्रोकर कम्पनीबाट थप भएर ९३ वटा पुर्‍याउने बोर्डको तयारी छ । 

हाल कारोबार रकमका आधारमा ब्रोकर कमिसन ०.२७ देखि ०.४ प्रतिशतसम्म लाग्छ । कम रकमको कारोबारमा धेरै र धेरै रकमको कारोबारमा कम कमिसन लाग्छ । ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४ प्रतिशत, ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत कमिसन काटिन्छ । त्यस्तै, पाँच लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि एक करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र एक करोडभन्दा बढी रकमको कारोबारमा ०।२७ प्रतिशत कमिसन लाग्छ । 

बोर्डमा हमाल आएपछि ०७७ पुसमा ब्रोकर कमिसन घटाएको थियो । लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले ब्रोकरको संख्या पनि बढेको र लगानीकर्ता महँगो कमिसन तिर्न बाध्य भएकाले अब कमिसन घटाउन विलम्ब गर्न नहुने बताए । उनले भने, ‘हामीले पटक–पटक कमिसनको कुरा उठाउँदै आएका हौँ, एकचरणको छलफल भएको छ, थोरै अंकले घटाए पनि घट्नुपर्छ ।’ ब्रोकर कमिसन घटाउने सम्बन्धमा ब्रोकर कम्पनीले असन्तुष्टि जनाएका छन् ।

बोर्डसँगको छलफलमा अहिलेको बजारको अवस्थामा कमिसन घटाए कारोबार नै बन्द गर्नुपर्ने अवस्था आउने ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले जानकारी दिए । उनले भने, ‘अहिले दैनिक औसत एक अर्ब रुपैयाँको समेत कारोबार हुन सकेको छैन ।’