सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै फेदीखोला हाइड्रोपावर, बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल


काठमाडौं – फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन मार्फत १७ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीको उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

अधिकृत तथा जारी पूँजी ८० करोड रहेको यस हाइड्रोपावरले जारी पूँजीको २२ प्रतिशत अर्थात् १७ करोड ६० लाख बराबरको प्रति अंकित मूल्य १०० रुपैयाँको दरका १७ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, सामूहिक लगानी कोष योजनाहरु, कम्पनीमा कार्यरत कर्मचारीहरु तथा सर्वसाधारणमा तोकिए अनुरुप जारी गर्ने कम्पनीले जनाएको छ।

कार्तिक २६ सम्पन्न भएको निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन्।

भोजपुर जिल्लाको सापाल्पासिलिछो गाउँपालीका वडा नं.६ मा बहने फेदी (थुमलुङ्ग) खोलामा निर्माण भैरहेको ४.३ फेदी (थुमलुङ्ग) जलविद्युत आयोजनाको कुल लागत करिब ९४ करोड रहेको छ। हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको यस आयोजनना २०८२ माघ भित्रमा सम्पन्न गर्ने लक्ष्य रहको र नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथा सम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाईने प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले योजनाका साथ तिव्र गतिमा निर्माण कार्य भैरहेको बताएका छन्।