चार दिनदेखी विद्युत् आपूर्ति बन्द


अदानचुली – सदरमुकाम सिमकोट चार दिनदेखि अन्धकार भएको छ। सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आए पनि मर्मत हुन नसक्दा विद्युत् आपूर्ति बन्द भएको हो।  

अन्य विद्युतको स्रोत नहुँदा विद्युतबाट हुने सम्पूर्ण कार्य प्रभावित भएका छन्। यतिबेला केही सरकारी कार्यालयमा ‘सोलार’ राखिए पनि हिउँदको समयमा खासै घाम नलाग्ने भएकाले मोबाइल चार्ज गर्न समेत समस्या भएको छ। 

मोबाइल र ल्यापटप चार्ज गर्नसमेत नपाएकाले समाचार संकलन र सम्प्रेषणमा समेत समस्या भएको सञ्चारकर्मी नरजङ तामाङले बताए। 

सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत् वितरण केन्द्रको विद्युत् गृहलगायत संरचनामा मर्मत कार्य गर्नुपर्ने भएकाले विद्युत् वितरण बन्द गरिएको वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र शाहले बताए।