बैंहरूको मुद्दती निक्षेपमा ३ अर्ब ७० कराेड लगानी गर्दै केन्द्रीय बैंक


काठमाडौं – केन्द्रीय बैंकले ३ अर्ब ७० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ । उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम राष्ट्र बैंकले एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो । यसका लागि प्रस्ताव पठाउन बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गरेको छ । 

जसअनुसार २ अर्ब ९६ करोड रुपैयाँ वाणिज्य बैंकमा, ५५ करोड ५० लाख रुपैयाँ विकास बैंकमा र १८ करोड ५० लाख रुपैयाँ फाइनान्स कम्पनीमा राख्नका लागि सूचना जारी गरेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले यही कात्तिक २६ गते (बुधबारसम्म) आफूले दिने ब्याजदरसहित राष्ट्र बैंकमा प्रस्ताव पठाउनु पर्नेछ । यसरी राष्ट्र बैंकको पैसा मुद्दती निक्षेपमा राख्नका लागि तोकिएका सर्तहरू भने बैंक तथा वित्तीय संस्थाले पालना गर्नु पर्नेछ ।

यसरी निक्षेप राख्दा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई विभिन्न शर्त पनि तोकेको छ । केन्द्रीय बैंकका लागि उक्त निक्षेप लिन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनपर्नेछ ।

केन्द्रीय बैंकले तोकेको न्युनतम कुल पूँजीकोष कायम भएको हुनुपर्नेछ । कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत भन्दा धेरै नभएको हुनु पर्नेछ । बैंकले समय समयमा निर्धारण गरे बमोजिमको खुद तरल सम्पत्ति अनुपात पनि कायम गरेको हुनु पर्छ । त्यसैगरी कर्जा निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनु पर्छ ।

अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसाब अनुसार खुद नाफा गरेको हुनु पर्नेछ । साथै शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको संस्थाले माग उक्त निक्षेप पाउनेछन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनु पर्नेछ ।

समस्याग्रस्त घोषणा भएमा सो फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनु पर्ने व्यवस्था समेत केन्द्रीय बैंकले गरेको छ । उक्त निक्षेप लिने बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरिसकेको हुनु पर्ने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ ।