पुँजी बजार सुधार सुझाव कार्यदलले दिएको सुझाव पूर्ण कार्यान्वयन नभएको भन्दै लगानीकर्ताले अर्थमन्त्रीको ध्यानाकर्षण गराए


काठमाडौं – नेपालको पुँजी बजारमा देखिएका समस्या र सुधारका बुँदाहरूको शीघ्र कार्यान्वयनको विषयमा ध्यानाकर्षण गराउन पुँजी बजार–सम्बन्धित संघ–संस्थाहरूका प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग भेटवार्ता गरेका छन् ।

नेपाल शेयर धनी संघ, जनरल इन्भेस्टर एसोसिएसन, साधारण लगानीकर्ता संघ नेपाल धितोपत्र लगानीकर्ता संघ, नेपाल शेयर बजार लगानीकर्ता संघका प्रतिनिधिहरूले अर्थमन्त्रीलाई पुँजी बजार सुधार सुझाव कार्यदलले दिएको प्रतिवेदनका सुझावहरू पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै लिखित ज्ञापन पत्र बुझाएका हुन्।

प्रतिनिधिहरूले सरोकारवाला निकायहरूबीच समन्वयको अभाव देखिएको भन्दै लगानीकर्ताहरूमा छाएको भ्रम र अन्योललाई तत्काल सम्बोधन गर्न जोड दिएका छन्।

Double ISIN प्रणालीकाे’ कार्यान्वयनमा ढिलासुस्ती, CDSC सेबोन र मन्त्रालयका प्रतिनिधिहरूको संयुक्त बैठकबाट समेत आवश्यक ठानी सिफारिस भएको प्रणाली लाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कार्यान्वयनमा लैजान अनावश्यक ढिलासुस्ती गरिरहेकोमा तत्काल निर्णय लिई कार्यान्वयन गर्न माग गरेका छन् ।

त्यस्तै, अन्य तत्काल सम्बोधन गर्नुपर्ने विषयहरू नेप्से र धितोपत्र बोर्डमा जारी विवाद तथा हडतालहरूले बजार सञ्चालनमा पारेको नकारात्मक असरको समाधान, त्यसैगरी, संस्थापक शेयरहरूलाई लक–इन अवधि सकिएलगत्तै सामूहिक रूपमा (एकैपटक) बिक्री गर्ने प्रवृत्तिलाई रोक्न चरणबद्ध बिक्री नीति बनाई व्यवस्थापन गर्ने आवश्यकता, त्यस्तै टीएमएस र सीडीएसी प्रणालीमा देखिएका प्राविधिक त्रुटिहरूलाई तत्काल उच्च प्राथमिकताका साथ सम्बोधन गर्ने जस्ता तत्कालै सम्बोधन गर्नपर्ने उनीहरूकाे माग छ ।

लगानीकर्ता संघरसंगठनका प्रतिनिधिहरूले राखेका गम्भीर विषयवस्तुहरूलाई अर्थमन्त्री खनालले आफूले गम्भीरतापूर्वक लिएको बताएका छन् । छलफलमा अर्थमन्त्रीले समस्याहरूको समाधानका लागि सम्बन्धित सरोकारवाला निकायहरूसँग तत्काल समन्वय गर्ने र आवश्यक निर्देशन दिने विश्वास दिलाएका छन्। अन्य विविध नियामकीय कुराहरू र लगानीकर्ताका गुनासाहरूलाई सम्बोधन गर्न कानुनी र संरचनागत प्रश्नहरूमा सबै सरोकारवालाले गृहकार्य सुरु गर्नुपर्ने कुरामा जोड दिएका छन्।