सिन्धुली सडक पुनर्निर्माणका लागि जापानबाट नेपाललाई २ अर्ब ३० करोड अनुदान


काठमाडौं – नेपाल र जापानबीच ‘बाढीले क्षति पुर्‍याएको सिन्धुली सडकको आपतकालीन पुनर्निर्माण कार्यक्रम’ कार्यान्वयनका लागि अनुदान सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौता अनुसार जापानले नेपाललाई २.८ अर्ब जापानी येन (करिब २ अर्ब ३० करोड रुपैयाँ) बराबरको अनुदान सहयोग उपलब्ध गराउनेछ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरिएको हो।

कार्यक्रममा विनिमय पत्रमा अर्थसचिव डा. घनश्याम उपाध्याय र नेपालस्थित जापानी राजदूत माएदा तोरुले हस्ताक्षर गरे। त्यस्तै, अनुदान सम्झौतामा नेपाल तर्फबाट अर्थ मन्त्रालयका सहसचिव डा. धनिराम शर्माले र जापान अन्तर्राष्ट्रिय सहकार्य संस्थाकी प्रमुख मात्सुजाकी मिजुकीले जापान तर्फबाट हस्ताक्षर गरे।