ब्याजदर कटौती गर्ने लक्ष्यसहित अमेरिकी फेडरल रिजर्भको बैठक बस्दै, नेपाललाई के असर पार्छ ?


काठमाडौं – विश्वभरका लगानीकर्ताहरूले चासो लिएको अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) आज राति बस्दैछ । नीतिगत बैठकमा ब्याजदर घटाउने तयारीमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । दुई दिने यो बैठकको अन्तिम निर्णय आज ९अक्टोबर २९० अमेरिकी समय अनुसार दिउँसो २ बजे र नेपाल समय अनुसार राति करिब ११ः३० देखि १२ः०० बजेबीच सार्वजनिक हुने अनुमान गरिएको छ ।

विगतमा फेडले उच्च मुद्रास्फीति नियन्त्रण गर्न लगातार ब्याजदर बढाउँदै आएको थियो । तर हाल अमेरिकी अर्थतन्त्रमा मूल्यवृद्धि दर घट्दै गएको र रोजगार वृद्धि पनि सुस्त देखिन थालेपछि फेडले अब ०.२५ प्रतिशत अंक (२५ आधार बिन्दू)ले ब्याजदर घटाउने सम्भावना अन्तर्राष्ट्रिय सञ्चार माध्यमको अनुमान छ । फेडको निर्णयले विश्वभरका बजारमा असर पार्नेछ । अमेरिकामा ब्याजदर घट्दा लगानीकर्ताहरू अन्य मुलुकमा आकर्षित हुन सक्छन् । यसको अप्रत्यक्ष प्रभाव नेपाललगायतका देशहरूको विनिमय दर, सुनचाँदीलगायतमा पनि देखिन सक्छ ।

अमेरिकी सरकार आंशिक रूपमा बन्द ‘सटडाउन’ छ । यसले फेडको निर्णयलाई प्रभावित पार्न सक्ने अनुमान पनि गरिएको छ।बैठकपछि फेडका जेरोम पावेलले पत्रकार सम्मेलनमार्फत आगामी नीतिगत दिशा र अमेरिकी अर्थतन्त्रको अवस्थाबारे जानकारी दिनेछन् ।फेडको ब्याजदर घट्दा अमेरिकी बजारमा पूँजीको लागत सस्तो हुन्छ । त्यसको परिणामस्वरूप लगानीकर्ताहरू उच्च प्रतिफल पाउनका लागि विकासशील देशहरूतर्फ आकर्षित हुन सक्छन् । नेपालले सस्तोमा विदेशी ऋण र लगानीको प्रवाह सहज हुनसक्छ । तर नेपालमा विदेशी लगानीका अवसर सीमित र नीतिगत अस्पष्टता भइरहेकाले प्रत्यक्ष लाभ सीमित हुने देखिन्छ ।

रुपैयाँको विनिमय दरमा असर
फेडले ब्याजदर घटाएपछि अमेरिकी डलरको मूल्य केही कमजोर हुन सक्छ । यसले नेपाली रुपैयाँ बलियो बन्ने सम्भावना ल्याउँछ । नेपालको मुद्राको विनिमय दर भारतीय मुद्रासँग स्थिर रहेकाले भारतीय रुपैयाँ मजबूत हुँदा त्यसको लाभ नेपालले लिने छ । तर, रुपैयाँ बलियो हुँदा निर्यात महँगो र आयात सस्तो हुने भएकाले व्यापार घाटा अझ बढ्न सक्ने जोखिम भने रहेको छ ।

तेल र सुनको मूल्यमा प्रभाव

फेडको निर्णयले विश्व बजारमा अमेरिकी डलर कमजोर हुँदा तेलको मूल्य केही बढ्ने सम्भावना रहन्छ। नेपालमा तेल आयात मूल्य सिधै अन्तर्राष्ट्रिय बजारसँग सम्बन्धित भएकाले यसले पेट्रोलियम पदार्थको मूल्य र मुद्रास्फीतिमा पनि असर पार्न सक्छ।

लगानीका अन्य क्षेत्रमा सम्भावना नदेखेपछि अन्तर्राष्ट्रिय रुपमा लगानीकर्ताहरू सुनमा आकर्षित हुन्छन् । अमेरिकाले नीतिगत दर घटाएमा अरु लगानीका क्षेत्रमा अवसर बढ्ने भएकाले सुनतर्फको आकर्षण घट्ने सम्भावना रहन्छ । यसले सुनको मूल्यलाई घटाउन मद्दत पुग्छ । नेपाली बजारमा पनि त्यसको प्रभाव देखिन सक्छ ।