काठमाडौं – श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आज अर्थात् असोज २६ गतेदेखि सर्वसाधरणका लागी आईपीओ निष्काशन गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटगरेपश्चात आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये कम्पनीले पहिलो चरणमा १ लाख ६३ हजार १२५ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ३ लाख ९ हजार ९३८ कित्ता साधारण शेयर श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
त्यस्तै, कम्पनीले १ लाख ५४ हजार ९६९ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १ लाख २३ हजार ९७५ कित्ता शेयर कर्मचारीहरुलाई बाँडफाँट गरिसकेको छ। अब भने कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँबराबरको २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्काशन गर्न लागेको हो।
उक्त, आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा असोज २९ गते हुनेछ भने ढिलोमा कात्तिक ९ गते हुनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया