अन्तरिम सरकारलाई लगानीकर्ताको ‘रेड कार्पेट’, स्वीकारेनन् विध्वंसपूर्ण आन्दोलन


काठमाडौं । शेयर बजारमा निरन्तर नकरात्मक सर्किट लाग्दै ६ प्रतिशतको गिरावट आएपछि पुनः बजार बन्द भएको छ । कारोबार सुरु भएको पहिलो ५ मिनेटमा नै ४ प्रतिशतले घटेर बन्द भएको बजार त्यसपछि पुनः ५ प्रतिशत घटेपछि बन्द भएको थियो ।

तर, २० मिनेट र पछिल्लो ४० मिनेट बन्द भएको खुलेको शेयर बजार फेरी ६ प्रतिशतले घटेर कारोबार रोकिएको छ । यसलाई शेयर लगानीकर्तामा देशको राजनीतिक अवस्थामा अन्यौलता, अनिश्चितता र अत्यासपूर्ण स्थितीमा रहेको देखाएको छ ।

जेनजी आन्दोलनमा सरकारले १९ जना मारेपछि भदौ २४ गतेको आन्दोलन हिंसात्मक र वितण्डापूर्ण बनेको थियो । जसमा देशभरका सरकारी तथा निजी भौतिक सम्पत्तीमा पूर्णरुपमा आक्रमण, तोडफोट, लुटपाट र आगजनी भएको थियो ।

विध्वंसपूर्ण आन्दोलनयता पहिलो पटक खुलेको शेयर बजारमा लगानीकर्ता हतास देखिएका छन् । उनीहरुले देशमा भएको विध्वसंपूर्ण आन्दोलनलाई स्वीकार गर्नै नसकेको देखिएको छ । यसबाहेक, लामो संक्रमणकालिन अवस्थाबाट बनेको संविधान र संसदमाथि भएको छेडखानीलाई समेत लगानीकर्ताले स्वीकार्न नसकेको बुझ्न सकिन्छ ।

यता ६ महिनाका लागि बनेको सरकारलाई समेत शेयर बजारले ‘रेडकार्पेट’ देखाइदिएको छ । ६ महिनामा निर्वाचन गर्ने भनिएपनि अनिश्चितताको भूमरी बाँकी नै छ । जसले नेपालको आगामी राजनीतिक स्थिती र भविष्य कता जाने भन्ने अनिश्चिय देखाउँछ ।

यहीकारण, आन्दोलनपछि पहिलो दिन खुलेको शेयर बजारमा लगानीकर्ताको मनोबल उच्चरुपमा गिरेको देखियो । यही अवस्थालाई मध्यनजर गर्दै लगानीकर्ताले बजार नखोल्न नियामकीय निकाय नेपाल धितोपत्र बोर्डलाई दबाब दिएका थिए । जसकारण, सेबोनले आन्दोलन सकिएको एक सातासम्मै बजार रोक्यो पनि ।

तर, पूर्व निर्धारित समयभन्दा एक दिन अघि खुलेको शेयर बजार सम्हालिन सकेन । अर्थात, बजारलाई घट्नबाट रोक्न चाहने लगानीकर्ताको मनोकांक्षा पुरा हुन सकेन । शेयर बजारलाई अर्थतन्त्रको ऐनाकारुपमा चित्रित गर्दै आइरहेका लगानीकर्ताले नै बजार घट्नबाट जोगाउनुपर्ने बताउँछन् ।

तर, देशमा भएको वितण्डा, सत्ता परिवर्तन, राजनीतिक अस्थिरता, निजी सम्पत्तीमाथिको आक्रमण र क्षती तथा सरकारी र सार्वजनिक सम्पत्तीमाथि भएको तोडफोड र आगजनीको प्रभाव बजारमा पर्छ नै । किनकि, शेयर बजार देशको अर्थतन्त्रलाई जस्ताको त्यस्तै चित्रण गर्ने ऐनाकारुपमा रहेको बताइन्छ ।

यहीकारण, देशव्यापीरुमा फैलिएको आन्दोलन र यसबाट भएको क्षतीको प्रभाव यता नपर्ने कुरै भएन । झण्डै डेढ दर्जन सूचीकृत कम्पनीमाथि प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव परेको छ । ६० भन्दा धेरै शैंक तथा वित्तीय संस्थाको शाखा र एटीएममा तोडफोड, लुटपाट र आगजनी भएको छ ।

यसबाहेक, माओवादी द्वन्द, भूकम्पयताकै सबैभन्दा धेरै बीमा दाबी परिसकेको छ । जुन, बढ्नेक्रम जारी नै छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार हालसम्म ३० अर्ब रुपैयाँभन्दा बढीको दाबी परेको छ । र, यो अझै बढ्ने निश्चित छ । जसले निर्जीवन बीमा कम्पनी र पुर्नबीमा कम्पनीलाई प्रत्यक्ष प्रभाव पार्छ ।

यहीकारण, शेयर लगानीकर्ता हतास देखिएका छन् । उनीहरुको मनोबल खस्किएको देखिन्छ । जसको प्रभावस्वरुप शेयर बजारमा ६ प्रतिशतको गिरावट आयो । यद्यपी, विगतका केही उदाहरण केलाउँदा संकटमा बढ्ने स्वभाव नेपालको शेयर बजारमा देखिन्छ ।

यो तथ्यलाई आधार मान्दा आन्दोलनपछि पहिलो पटक खुलेको बजारमा उच्च गिरावट आएपनि आगामी दिनमा बजार सकरात्मक लयमा जाने अपेक्षा भने गर्न सकिन्छ । तर पनि शेयर बजार ट्रेन्डमा भन्दा बढी लगानीकर्ता र वर्तमान परिस्थितीलाई आधार मानेर अघि बढ्छ ।