नोक्सानी बढेपछि कोकाकोला उत्पादक कम्पनीको शेयर मूल्य ओरालोतर्फ, माइनसमा ईपीएस


काठमाडौं – नाफा करोडौँले घाटामा रहे पनि कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल तराईको शेयर मूल्य भने उच्च देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा उच्च नोक्सानीमा रहेका यी दुई वटै कम्पनीको शेयर मूल्य भने ११ हजार र १६ हजार रुपैयाँ प्रतिकित्ता रहेको हो ।

यतिबेला बोटलर्स नेपालको शेयर मूल्य प्रतिकित्ता १५ हजार ७०० रुपैयाँभन्दा माथि छ । यस्तै, बोटलर्स नेपाल तराईको शेयर मूल्य ११ हजार ५०० रुपैयाँभन्दा माथि छ । जबकि, बोटलर्स नेपाल तराईको शेयर मूल्य बढेर १७ हजार रुपैयाँ प्रतिकित्तासम्म पुगेको थियो ।

यो कम्पनीको शेयर मूल्य २०७८ पुसमा १७ हजार रुपैयाँ प्रतिकित्तासम्म पुगेको थियो । त्यसयता निरन्तर घट्दो स्थितिमा रहे पनि यतिबेला बजारमा प्रतिकित्ता ११ हजार रुपैयाँभन्दा बढीमा कम्पनीको कारोबार भइरहेको छ ।

कम्पनीद्वारा सार्वजनिक गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार भने ६० करोड रुपैयाँले ऋणात्मक स्थिति छ । यसअनुसार कम्पनीले यो वर्ष आफ्ना शेयरधनीलाई लाभांश दिने स्थिति छैन । तर, शेयर बजारमा सीमित लगानीकर्ताले शेयर ‘कर्नरिङ’ गर्दै कम्पनीको मूल्य माथि नै राख्न चलखेल गरिरहेका छन् ।

यता २०८१/८२ मा ४० करोड रुपैयाँले घाटामा रहेको वित्तीय विवरण सार्वजनिक गरेको बोटलर्स नेपाल बालाजुको शेयर मूल्य १५ हजार ७०० रुपैयाँभन्दा माथि छ । जबकि, कम्पनी स्वयम ४० करोड रुपैयाँले नोक्सानीमा रहेको देखिएको छ ।

यो कम्पनीको शेयर मूल्य वित्तीय विवरण सार्वजनिक भययता भने निरन्तर घट्दो छ । यो कम्पनीको शेयर मूल्य २०८० फागुन आसपास २३ हजार रुपैयाँसम्म पुगेको थियो । तर, त्यसयता भने निरन्तर घटेर यति बेला १५ हजार रुपैयाँमा आइपुगेको छ ।

यस्तै, यही वर्षमा समेत कम्पनीको शेयर मूल्य उच्च दरले ओरालो लागेको छ । २०८२ को वैशाखमा १८ हजार रुपैयाँ हाराहारी रहेको कम्पनीको शेयर मूल्य त्यसयताको अवधिमा ३ हजार रुपैयाँ हाराहारीले खुम्चिएको छ ।

नाफासँगै घट्यो इपीएस

नाफा खुम्चिएसँगै कम्पनीको ‘अर्निङ पर शेयर’ समेत खुम्चिन थालेको छ । बोटलर्स नेपाल ९बालाजु०को अघिल्लो वर्ष प्रतिशेयर आम्दानी १ रुपैयाँ ८० पैसा थियो । जबकी, यो वर्ष कम्पनीको इपीएस खुम्चिएर १ रुपैयाँ ७७ पैंसाले ऋणात्मक बनेको छ ।

त्यस्तै, बोटलर्स नेपाल (तराई) को प्रतिशेयर आम्दानी समेत ऋणात्मक रहेको छ । यस कम्पनीको अघिल्लो आवमा ३ रुपैयाँ २९ पैसा रहेकोमा गत आवको असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २ पैसाले ऋणात्मक रहेको छ ।