काठमाडौं – सर्वसाधारणलाई बाँडफाँट गरिएको महिना दिनसम्म पनि साधारण सेयर (आईपिओ) खातामा जम्मा नहुने समस्या देखिन थालेको छ । बाँडफाँट भएको एक महिनासम्म खातामा नआएको पछिल्लो उदाहरण हो, हिमालयन बैंकको फर्दर पब्लिक अफरिङ (एफपिओ) ।
गत १३ साउनमा हिमालयन बैंकको एफपिओ बाँडफाँट गरिएको थियो । १७ लाख ४ हजार २७३ जनालाई परेको एफपिओ बाँडफाँट भएको म्याद भोलि शुक्रबार एक महिना पुग्दैछ । तर, हालसम्म पनि एफपिओ खातामा नआएपछि सामाजिक सञ्जालमा गुनासो पोखिन थालेको छ ।
हिमालयन बैंकका सूचना अधिकारी सुनिल गोरखालीले प्रक्रियामै रहेकाले आइतबारसम्ममा खातामा जम्मा हुने बताए । उनले ढिलाइ हुनुको कारण भने खुलाएनन् । यसरी बाँडफाँट भएको महिना दिनसम्म खातामा नआउने समस्या नौलो भने होइन ।
३२ असारमा बाँडफाँट भएको हिमस्टार ऊर्जा कम्पनीको आईपिओ महिना दिनसम्म सूचीकृत नभएपछि २ भदौमा सिडिएससी एन्ड क्लियरिङ कम्पनीले विज्ञप्तिमार्फत प्राविधिक त्रुटीका कारण धितोपत्र रोक्का राखिएको जानकारी गराएको थियो ।

हालसम्म पनि हिमस्टारको आईपिओ सूचीकृत भइ कारोबार आइसकेको छैन । २९ असारमा बाँडफाँट भएको विकास हाइड्रोपावरको आईपिओ २७ साउनमा बल्ल सूचीकृत भएको थियो । १ असारमा बाँडफाँट भएको ट्रेड टावरको आईपिओ ३१ असारमा मात्रै सूचीकृत भएको थियो ।
२३ जेठमा बाँडफाँट भएको सान्भी इनर्जीको आइपिओ १ साउनमा मात्रै सूचीकृत भएको थियो । एक महिनासम्म पनि आइपिओ खातामा नआउने र नेप्सेमा सूचीकृत नभएमा कानुनी कारबाही हुने व्यवस्था नभएको नेपाल स्टक एक्सचेञ्जका प्रवक्त मुराहरि पराजुलीले जानकारी दिए । उनले भने, ‘बाँडफाँट भएको एक महिनाभित्र सूचीकृत भइसक्नुपर्ने हो । तर, आइसकेको छैन । यसमा कानुनी बाध्यात्मक व्यवस्था छैन ।’



About Us
प्रतिक्रिया