काठमाडौं – व्यावसायिक घराना त्रिवेणी समूहको ग्रीन भेञ्चर्सले ३९ अर्ब ५० करोड रूपैयाँ लागत अनुमानको कालीगण्डकी गर्ज हाइड्रोपावरको बहुमत शेयर –५१ (प्रतिशत) किनेको छ । दुई कम्पनीबीच बुधबार शेयर खरिद सम्झौता नै भइसकेको छ ।
कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिले म्याग्दी र मुस्ताङ्ग जिल्ला स्थित कालीगण्डकी नदीमा १८० मेगावाट क्षमताको अर्धजलाशययुक्त कालीगण्डकी गर्ज हाइड्रोपावर प्रोजेक्टको विकास तथा निर्माण गरिरहेको छ । यो आयोजनाको विद्युत् उत्पादनको अनुमतिपत्र प्राप्त भईसकेको छ ।
लक्ष्मी सनराईज बैंकको अगुवाईमा विभिन्न बैंकहरुको सहवित्तियकरण समूहले सो आयोजनामा लगानी गर्ने गरी यस अघिनै वित्तिय व्यवस्थापनको कार्य सम्पन्न भईसकेको छ । यसमा ऋण तथा स्वपूँजीको अनुपात ७५ः२५ रहनेछ। यो आयोजनाको निर्माणवाट देशको उर्जा क्षेत्रको विकासमा उल्लेख्य योगदान पुग्ने विश्वास लिइएको छ ।
नेप्सेमा बढ्यो ग्रीन भेञ्चर्सको आकर्षण
कालीगण्डकी गर्जको शेयर किन्ने सूचना बाहिर आएपछि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ग्रीन भेञ्चर्सको शेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । बुधबार कारोबार अवधिभरमा ग्रीन भेञ्चर्सको शेयर मूल्य प्रति कित्ता ८ प्रतिशतले बढेर ५८१ रुपैयाँ कायम भएको छ । यो अविधसम्म ग्रीन भेञ्चर्सको शेयर कारोबार पनि उच्च छ । ४६ करोड ५३ लाख रूपैयाँ कुल कारोबार भएको छ ।
कम्पनीले गत आर्थिक वर्ष ०८१/८२ मा कम्पनीले ३८ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९१.३५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १३ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढेको थियो ।






About Us
प्रतिक्रिया