प्रि–आईपीओको नाममा हुने ठगीबाट सचेत रहन लगानीकर्तालाई सेबोनको आग्रह


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रि–आईपीओको नाममा हुने ठगीबाट सचेत रहन लगानीकर्तालाई आग्रह गरेको छ । सेबोनले एक सूचना जारी गर्दै सचेत रहन आग्रह गरेको हो ।

बोर्डद्वारा प्रकाशित सूचनामा भनिएको छ, ‘सार्वजनिक निष्काशन नभएका विभिन्न संगठित संस्थाहरुको शेयर प्रि–आईपीओको नाममा सामाजिक संजाल मार्फत् उक्त कम्पनीहरुको निकट भविष्यमा नै सार्वजनिक निष्काशन गरिने भन्दै सर्वसाधारणलाई शेयर खरिद गर्न प्रस्ताव गरी अनाधिकृत रुपमा पैसा उठाइरहेकोले उक्त कार्य तत्काल रोक्न लगानीकर्ताहरुबाट बोर्डमा गुनासो प्राप्त भएको सन्दर्भमा यस विषयमा बोर्डको गम्भिर ध्यानाकर्षण भएको छ ।’

बोर्डले प्रचलित कानूनमा प्रि–आईपीओ सम्बन्धी कुनै व्यवस्था नरहेको र धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २९ को उपदफा (१) मा संगठित संस्थाले एक पटकमा पचास जना भन्दा बढी व्यक्तिहरुलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नु पर्नेछ भन्ने व्यवस्थाबारे जानकारी गराएको छ । बोर्डले बोर्डबाट अनुमति प्राप्त नगरी सार्वजनिक रुपमा संगठित संस्थाको शेयर खरिद/बिक्री सम्बन्धी कार्य नगर्न/नगराउन सूचित गरेको छ । यसरी धितोपत्र सम्बन्धी ऐन, २०६३ ले गरेको व्यवस्था विपरितका यस्ता कार्यहरु दण्डनीय भएकोले यस्ता क्रियाकलापमा संलग्न नहुन सबैलाई सजग गराउँदै सम्पूर्ण लगानीकर्तालाई यस्ता कार्यमा सहभागी नहुन बोर्डले आग्रह गरेको छ ।