काठमाडौं – श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले भदौ ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो।कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
जसमध्ये जारी पुँजीको १ प्रतिशत अर्थात् १ करोड ६३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख ६३ हजार १२५ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो। सो शेयरमा रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्टाइएको शेयरको १० प्रतिशतले हुन आउने ३ करोड ९ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ९ हजार ९३८ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन बन्द छिटोमा भदौ २५ गते हुनेछ भने ढिलोमा असोज ९ गते हुनेछ। त्यस्तै,वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने निष्कासन बन्द छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गते हुनेछ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। उक्त आईपीओमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूले नबिल बैंकको तानसेन, पाल्पा र फरसाटिकर शाखा, रुपन्देही, एनएमबि बैंकका तानशेन, पाल्पा र फरसाटिकर शाखा तथा ग्लोबल आइएमई बैंकका तानसेन, पाल्पा शाखाबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया