एशियन थाइ फुड्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा हिमालयन सेक्युरिटीज नियुक्त


विराटनगर – सुनसरी–मोरङ औधोगिक क्षेत्रमा सन् २००१ मा स्थापित अग्रणी उद्योग एशियन थाई फूड्स लिमिटेडले सर्वसाधारणका लागि शेयर निस्काशन गर्ने भएको छ । एशियन थाई फूड्सले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ ) का लागि हिमालयन सेक्यूरिटीजलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । दुवै कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षर समेत भएको हो । सम्झौतामा एशियन थाई फुड्स लिमिटेडका अध्यक्ष शिवरतन शारडा र हिमालयन सेक्युरिटीजका प्रमुख कार्यकारी अधिकृत सुभास बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

एशियन थाइ फुड्सका प्रबन्ध निर्देशक महेश जाजु, कार्यकारी निर्देशक राधेश्याम शारडा र निर्देशक आशिष जाजु तथा हिमालयन सेक्युरिटीजका नायब महाप्रबन्धक शंकर राजवाहक लगायतको उपस्थितिमा सम्झौता भएको जनाइएको छ । शारदा ग्रुप र जाजु ग्रुपको साझेदारीमा स्थापित भएको एशियन थाई फूड्स नेपालमा नुडल्स र स्न्याक्सको अग्रणी उत्पादक कम्पनीका रुपमा स्थान बनाइसकेको छ ।

सम्झौतासँगै एशियन थाई फूड्सले सार्वजनिक बजारमा प्रवेशको बाटो तय गरेको छ। सुनसरीको सोनापुरमा मुख्य उद्योग रहेको यस कम्पनीले कपिलबस्तुको तौलिहवामा पनि नयाँ प्लान्ट स्थापना गरी नुडल्स र स्न्याक्स उत्पादन सुरु गरिसकेको छ । यस उद्योगबाट उत्पादित सबैभन्दा लोकप्रिय नुडल्सका रुपमा रमपम परिचित छ। त्यस्तै, २ पीएम र प्रिती चाउचाउ पनि उत्पादन र बिक्री वितरण गर्दै आएको छ ।

एशियन थाई फूड्सले नेपालभरी र नेपाल बाहिरका खाडी मुलुक, भारत, चीन, जापान, दक्षिण कोरिया, मलेसिया, युएई, बेल्जियम, डेनमार्क, फिनल्यान्ड, जर्मनी, इटाली, माल्टा, यूके, क्यानडा, अमेरिका, अष्ट्रेलिया र न्यूजिल्याण्ड लगायत ३० भन्दा बढी देशहरूमा निर्यात हुँदै आएको छ। विश्वव्यापी बजारमा प्रवेश गरिसकेको कम्पनीले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने प्रक्रिया अघि बढाएको एशियन थाई फूड्सका प्रबन्ध निर्देशक महेश जाजुले बताए ।

‘हिमालयन सेक्युरिटीज बैंकलाई एशियन थाई फूड्स लिमिटेडको तर्फबाट आईपीओकाे बिक्रीका लागि बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौता सम्पन्न भएको छ’ जाजुले भने, ‘यो कदमले हाम्रो विश्वब्यापी यात्रालाई अझ बलियो र रोमाञ्चक अध्यायको सुरुवात हुने अवस्थामा पुर्याएको छ ।’ एसियन थाई फूड्सले गत वर्ष मात्रै करिब ५ अर्बको व्यापार गरेको जनाइएको छ । कम्पनीले हरेक बर्ष आम्दानीको अवस्थामा सुधार गर्दै लगेको छ । बलियो संस्थापक र व्यवस्थापन टिमका कारण इक्राले गरेको रेटिङमा कम्पनीले इक्रा एनपी ए२ रेटिङ पाइसकेको छ ।