पिपुल्स पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन 


काठमाडौं –  पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (साउन २६) गते अन्तिम दिन रहेको छ।कम्पनीले हाल कायम चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँको १ः०.५ अनुपातमा अर्थात् ५० प्रतिशतले हुन आउने ३१ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर जारी गरेको छ।

हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले असार २ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार १ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका इलाम,जाउलाखेल (ललितपुर), वीरगन्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।