कर्णाली विकास बैंक घोटला प्रकरण, कस्तो विधि अपनाए ?


काठमाडौं – कर्णाली विकास बैंक घोटला प्रकरणमा संलग्नहरुले विभिन्न बैंक खाताको प्रयोग गरी रकम अपचलन गर्ने गरेको खुल्न आएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानकाअनुसार उनीहरुले विभिन्न बैंक खाताको प्रयोग गरी रकम अपचलन गर्ने गरेको खुलेको हो ।

ब्युरोले संस्थाको विभिन्न बैंकस्थित खाताबाट नगद झिकिएको तर यस संस्थाको बैंकिङ्ग प्रणालीमा प्रविष्टी नगरी नगद अन्यत्रै लगिएको, बैंकको अन्य बैंकमा रहेको खातामा नगद जम्मा गर्न पठाइएको तर सम्बन्धित बैंकमा जम्मा नभएको, पदाधिकारी एवं कर्मचारीहरुको खातामा मौज्दात पर्याप्त नभएता पनि नगद काउण्टरबाट भुक्तानीपुर्जा र चेकमार्फत नगदै रकम लिने दिने गरेको खुल्न आएको छ ।

उनीहरुले सेञ्चुरी बैंक, सिभिल बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक प्रभु बैंक, सानिमा बैंक, सिद्दार्थ बैंक खातामार्फत कारोबार गरेको पाइएको हो । अपचलनको क्रममा यस संस्थाका तत्कालिन प्रमुख कार्यकारी अधिकृतहरु, वित्त विभाग प्रमुख, मुख्य शाखा प्रमुख, अपरेसनमा काम गर्ने कर्मचारीहरु लगायत चेकमा हस्ताक्षरकर्ताहरु, चेकको रकम बुझिलिने कर्मचारीहरु, सो रकम बुझी लिई संस्थाको भल्ट वा दैनिक बैंकिङ् कारोबारमा राख्नु पर्ने जिम्मेवारीमा रहेका कर्मचारीहरु लगायत उक्त कार्य गर्न आदेश दिने व्यक्तिहरु तथा रकम प्रयोगकर्ताहरु अपचलनमा संलग्न देखिएका छन् ।

केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुको बीचमा हुने अन्तर–शाखा कारोबारको सिलसिलामा शाखा कार्यालयबाट केन्द्रीय कार्यालयमा नगद फण्ड ट्रान्सफर हुने गरेको, केन्द्रीय कार्यालय मार्फत सो फण्ड कर्णाली डेभलपमेन्ट बैंकको अन्य बैंकस्थित खाताहरुमा दाखिला गर्न पठाएको तथ्य संस्थाको कागजात र हिसाबबाट देखिए तापनि सम्बन्धित बैंकमा सो फण्ड रकम दाखिला भएको नदेखिएको ब्युरोले जनाएको छ । । अन्तरशाखा कारोबार अन्तर्गत अपचलन भएको खुद रकम १ करोड २० हजार ५४१ लामो समयदेखि हिसाब मिलान नभई बक्यौता रहेको देखिएको छ ।