शेयर बजारमा मौद्रिक नीतिको प्रभाव, नेप्से परिसूचक २९ सय अंकमाथि


काठमाडौं – शेयर बजारमा मौद्रिक नीतिको उल्लेख्य प्रभाव देखिएको छ । अघिल्लो साताको शुक्रबार सार्वजनिक चालू वर्षको मौद्रिक नीति यता शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उल्लेख्य प्रभाव देखिएको हो ।

असार २७ गते सार्वजनिक भएको मौद्रिक नीति यता हालसम्मको कारोबार दिनमा जम्मा १ दिन नेप्से परिसूचक घटेको छ । त्यसबाहेक अन्य सबै कारोबार दिनमा परिसूचक उच्च अंकले बढेको छ ।

गत साताको आइतबार २९ अंकले बढेको नेप्से परिसूचक, सोमबार ३५ अंकले घटेको थियो । यसबाहेक, मंगलबार ३४ अंक, बुधबार ३४ अंक र विहीबार ७५ अंकले बढेर परिसूचक २९ सय नजिक पुगेको थियो ।

तर, आज कारोबार खुलेदेखि नै बढेर परिसूचक २९ सय १९ अंकमा पुगेको छ । यो समाचार तयार पार्दासम्म परिसूचक ४८ अंक बढेको छ । यस्तै यस अवधिसम्म बजारमा १३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

गभर्नर विश्वनाथ पौडेलले शेयर लगानीकर्ताको मागबमोजिम शेयर धितो कर्जाको सिमा १५ करोडबाट बढाएर २५ करोड पुर्याएका थिए । यहीकारण, मौद्रिक नीति सार्वजनिक भएयता परिसूचक निरन्तर बढिरहेको हो ।