इन्भेस्टमेन्ट कम्पनीले संस्थापक शेयर लगानी गर्ने क्षेत्र बढ्यो, ५० करोड चुक्ता पुँजी पुगेकाले आईपीओ निष्काशन गर्न पाउने


काठमाडौं–  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले इन्भेस्टमेन्ट कम्पनीको संस्थापक शेयर लगानी गर्ने क्षेत्र बढाएको छ । बोर्डले ऊर्जा, यातायात र सञ्चार क्षेत्रका कम्पनीको संस्थापक शेयर मात्र लगानी गर्न पाउने व्यवस्थालाई बढाएको हो । 

साथै, बोर्डले साधारण शेयर  निष्कासन गरेका इन्भेस्टमेन्ट कम्पनीलाई ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित सङ्गठित संस्थाको संस्थापक शेयर बाहेक अन्य धितोपत्र र प्राथमिक तथा दोस्रो बजार मार्फत धितोपत्र खरिद गर्न नसक्ने व्यवस्था गरेकाे छ ।

आईपीओ निष्कासन गर्न चाहने इन्भेस्टमेन्ट कम्पनी, सङ्गठित संस्था लगानी कम्पनीको प्रतिशेयर नेटवर्थ अंकित मूल्यभन्दा बढी भएको हुनुपर्ने । सङ्गठित संस्था र लगानी कम्पनी कम्तीमा तीन वर्ष सञ्चालनमा रही पछिल्लो दुई आर्थिक वर्ष मुनाफा गरेको हुनुपर्ने व्यवस्था छ । तर, योग्य संस्थागत लगानीकर्ताका रूपमा समेत कार्य गर्न बोर्डबाट अनुमति प्राप्त गरेको खण्डमा ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित सङ्गठित संस्थाको बुक बिल्डिङ विधिमार्फत हुने प्रारम्भिक सार्वजनिक निष्कासनमा मात्र योग्य संस्थागत लगानीकर्ताका रूपमा कार्य गर्न बोर्डले सूचना मार्फत  जानकारी दिएको छ । 

साधारण शेयर निष्कासन गर्न सङ्गठित संस्था लगानी कम्पनी ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खनन क्षेत्रको सङ्गठित संस्थाको धितो पत्रमा मात्र लगानी गर्ने गरी स्थापना भएको हुनुपर्छ । सङ्गठित संस्था र लगानी कम्पनीले न्यूनतमभन्दा कम्तीमा एक स्तर माथिको क्रेडिट रेटिङ ग्रेड प्राप्त गरेको हुनुपर्ने छ ।

त्यसैगरी, यस्ता लगानी कम्पनीको चुक्ता पुँजी कम्तीमा ५० करोड हुनुपर्ने व्यवस्था छ । नेपाल सरकार संस्थापक भई स्थापना भएको सङ्गठित संस्था वा ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खनन क्षेत्रमा लगानी गर्ने उद्देश्य सहित स्थापना भएको सङ्गठित संस्था र लगानी कम्पनी हुनुपर्नेछ । त्यस्तै, वैदेशिक लगानीमा स्थापना भएका संगिठत संस्थाले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐनका प्रक्रिया पूरा गरेको हुनुपर्नेछ ।