काठमाडौं– ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडको नवौँ साधारण सभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा चितवनको भरतपुरमा असार ६ गते शुक्रबार साधारण सभा सम्पन्न भएको हो । सभाबाट सञ्चालक पदमा चिराग अग्रवाल र रुबिना श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उनीहरू सर्वसाधारण समूहबाट निर्वाचित भएका हुन् ।
साधारण सभाको निर्वाचन प्रक्रियामा दुई जना बाहेक अन्य कुनैपनि शेयरधनीले आवेदन नदिएपछि अग्रवाल र श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । सभामा अध्यक्ष श्रेष्ठले प्रतिस्पर्धात्मक औषधि बजारमा स्वदेशी उत्पादन, गुणस्तरीय सेवा र नवप्रवर्तनमा आधारित रणनीतिका साथ अघि बढिरहेको जानकारी दिए।
साधारण सभामा भरतपुर महानगरपालिका वडा नं. २९ का वडाध्यक्ष सूर्यबहादुर गुरुङले कम्पनीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठसहितको टिमले वडा र स्थानीय जनतालाई लगाएको गुन सम्मानयोग्य भएको बताए । गुरुङले ओम मेगाश्री फर्मास्युटिकल्सको स्थापनाले वडा र त्यस क्षेत्रका सडक, खानेपानी, विद्युतका साथै स्थानीय जनतालाई रोजगारीमा समेत आबद्ध गरी विशेष टेवा पुर्याएको बताए।
साधारणसभाले आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदनसहित कम्पनीको आ.व. २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरूसहितको वित्तीय विवरण पारित गरेको छ। त्यस्तै, सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आ.व. २०७१/०८२ को लागि बाह्य लेखा परीक्षकको नियुक्ति गरेको छ।
विशेष प्रस्ताव अन्तर्गत सभाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने , सञ्चालकको पारिश्रमिक, बैठक भत्ता र अन्य सुविधा निर्धारण गर्ने र वार्षिक साधारण सभाले गरेको संशोधनको सम्बन्धमा नियामक निकायबाट कुनै संशोधन वा हेरफेर गर्न निर्देशन दिएको खण्डमा सोबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।



About Us
प्रतिक्रिया