साताको शेयर: नेप्सेमा ३३.१५ अंकको गिरावट, कारोबार रकम ३२ अर्ब माथि   


काठमाडौं – यो साताको शेयर कारोबारमा  दोहोरो अंकको गिरावट देखिएको छ । यो साता शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३३ दशमलव १५ अंकको गिरावट देखिएको हो । यो साता ५ दिन कारोबार हुँदा नेप्से ४ दिन घटेको छ भने १ दिन बढेको छ । यो साता शेयर बजारमा ३२ अर्बभन्दा माथिको कारोबार भएको छ। गत साताको ५ दिन कारोबार भएको नेप्सेमा ३ दिन गिरावट तथा २ दिन वृद्धि आएको थियो भने रकम ४९ अर्बको हाराहारीमा कारोबार भएको थियो ।

यस साताको पहिलो कारोबार दिन (आइतबार) नेप्सेमा भारी अंक अर्थात् ३२ दशमलव ९३ अंकको गिरावट देखिएको थियो । सो दिन बजारमा ८ अर्ब ९४ करोड ७० लाख रुपैयाँको कारोबार भयो । यस्तै, सोमबार नेप्सेमा ४ दशमलव ७८ अंकको वृद्धि देखिँदा कारोबार रकम ६ अर्ब ३२ करोड रुपैयाँ पुग्यो । मंगलबार नेप्सेमा ० दशमलव २२ अंकको गिरावट देखिएसँगै ५ अर्ब ६८ करोड रुपैयाँको कारोबार भयो ।

त्यस्तै, साताको चौथो कारोबारको दिन (बुधवार) ० दशमलव ३३ अंकको गिरावट देखिएसँगै सो दिन बजार २६ सय २० को बिन्दुमा बजार बन्द हुँदा कारोबार रकम ५ अर्ब ७८ करोड रुपैयाँ पुगेको थियो । साताको अन्तिम कारोबारको दिन बिहीबार पुनः शेयर बजारमा गिरावट देखियो । बिहीबार बजारमा ४ दशमलव ४५ अंकको गिरावट देखिँदा ७ अर्ब ६६ करोड रुपैयाँभन्दा माथिको कारोबार भयो ।