नयाँ स्टक एक्सचेन्जको सिफारिससहित प्रतिवेदन सार्वजनिक, नेप्सेको संरचना बदल्न सुझाव


काठमाडौं – धितोपत्र बजार सञ्चालनको लागि एकभन्दा बढी संगठित संस्थालाई अनुमति दिन उपयुक्त हुने र नहुने सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन, २०८१ सार्वजनिक भएकाे छ ।

नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा गठित अध्ययन समितिद्वारा तयार प्रतिवेदनले पूँजी बजार विस्तार गर्न, कारोबारलाई तीव्र बनाउन र लगानीकर्तालाई थप विकल्प दिन दोस्रो एक्सचेन्जको अनुमति दिनुपर्ने सुझाव दिएकाे छ ।

समितिले नेपालको पूँजी बजार तथा धितोपत्र बजारको सुरुदेखि हालसम्मको विकास क्रम, विद्यमान अवस्था, समस्या र चुनौती लगायत विषयमा अध्ययन गरी प्रतिवेदन तयार पारेको हाे । समितिले तयार पारेको प्रतिवेदनले अहिलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनः संरचना गर्नुपर्ने सिफारिस गर्दै थप एउटा स्टक एक्सचेञ्जको आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।