यति एयरलाइन्सको सिइओमा अनोज रिमाल नियुक्त

यति एयरलाइन्सको सिइओमा अनोज रिमाल नियुक्त


बैकिङ्ग समाचार ।  
यति एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृतमा अनोज रिमाल नियुक्त भएका छन्।

यति र तारा एयर सञ्चालन गरिरहेको यति ग्रुप अफ कम्पनिजले रिमामललाई एयरलाइन्सको प्रमुख कार्यकारीमा नियुक्त गरेको हो।

यतिको भगिनी संस्थाको रुपमा रहेको तारा एयरको व्यवस्थापन पनि रिमालकै हुने छ।

दुई दशकदेखि यति ग्रुपमै कार्यरत रिमालसँग उड्डयन क्षेत्रको २६ वर्षको अनुभव छ। उनलाई कम्पनीले चार वर्षका लागि सिइओ नियक्त गरेको र उक्त जिम्मेवारी आजदेखि नै लागू हुने रिमालले जानकारी दिए।

कोरोना भाइरसका कारण संकटमा परेको एयरलाइन्सको व्यापार तथा व्यवस्थापन सम्हाल्नु रिमालको मुख्य चुनौति हो।

एयरलाइन्सको सिइओमा यसअघि उमेश राई कार्यरत थिए। उनी ग्रुपमा गएका छन्।

सन् १९९८ मा स्थापना भएको यति एयरलाइन्सले नेपालका सुगम क्षेत्रका गन्तव्यमा उडान गर्दै आएको छ। ७२ सिट क्षमताका एटिआर ७२ जहाज ५ र जेटस्ट्रिम ५ भएको यतिले काठमाडौंबाट नेपालगञ्ज,धनगढी,भैरहवा,पोखरा, विराटनगर,भद्रपुर,तुम्लिङटार,जनकपुरजस्ता गन्तव्यमा उडान गर्दै आएको छ। यतिको भगिनी संस्था तारा एयरले भने दुर्गमका गन्तव्यमा उडान गर्छ। उसले काठमाडौंबाट लुक्ला, पोखराबाट जोमसोम, नेपागञ्जबाट डोल्पा,जुम्ला, बाजुरा,हुम्ला जस्ता क्षेत्रमा उडान गर्दै आएको छ।