भावना अवस्थी, काठमाडौं ।
वित्तीय साक्षरताले पैसाको महत्व बुझ्न र सो अनुसार त्यसको उचित व्यवस्थापन गर्ने शिक्षा प्रदान गर्दछ । पैसाको सदुपयोगबाट आर्थिक तथा सामाजिक सुरक्षा हासिल गर्ने, सीमित साधनको अधिकतम उपयोग गरी असीमित आवश्यकताहरूलाई प्राथमिकताको आधारमा पूरा गर्न व्यवस्थित बजेट बनाउने तरिका सिकाउने तथा सीमित साधनको व्यवस्थित परिचालन र उच्चतम सदुपयोग गर्ने कला, सीप र ज्ञान वित्तीय साक्षरताले प्रदान गर्दछ । तर, हाम्रो समाजमा परिवारको आर्थिक अवस्था तथा वित्तीय शिक्षाको जानकारीको बारेमा बालबालिका अनभिज्ञ नै हुन्छन् ।
परिवारको आम्दानी खर्च, ऋण, धन आदिका बारेमा बालबालिकालाई जानकारी दिने चलन खासै देखिँदैन । बालबालिकालाई पढ्ने, दैनिक घरव्यवहार चलाउन आवश्यक पर्ने पैसा कहाँबाट आउँछ ? त्यसका बारेमा थाहा हुँदैन । नियमित आम्दानीले पुग्ने, नपुग्ने अवस्थामा गरिने वैकल्पिक उपाय अवलम्बन बारेमा जानकारी निकै कम बालबालिकामा हुन्छ । यसले गर्दा उनीहरू आफूलाई आवश्यक भएको वस्तु खरिद गर्न जिद्दी गर्ने गर्छन् । त्यस्ता माग पूूरा नभएमा बाबुआमाले आफ्नो आवश्यकतालाई वास्ता नगरेको भन्ने ठानेर तनावमा हुन्छन् । वित्तीय साक्षरताले भविष्यमा बालबालिकाहरुको आर्थिक रुपमा स्वतन्त्र हुन सक्ने क्षमताको बृद्धि गर्दछ ।
आफ्नो कमाईको सानो रकम बचत गर्ने, चाडपर्वहरुमा प्राप्त गरेको दक्षिणा बचत गर्ने बानी बसाल्नु पर्दछ । यस्तै खर्च गर्दा आफ्नै सानो कमाईबाट नै खर्च गराउन लगाउने प्रवृत्तिले उनीहरुमा खर्च कम गर्नेको साथै आम्दानी र खर्चको कसरी गर्ने भन्ने सिकाइ प्रभावकारी बन्दछ । बालबालिकालाई उमेर अनुसार वित्तीय शिक्षा दिनु पनि अत्यन्तै महत्वपूर्ण हुन्छ । वित्तीय क्षेत्र जटिल पनि हुने हुनाले यसका बारेमा हरेक बालबालिका जानकार हुनैपर्छ । वित्तीय शिक्षा नहुँदा जीवनमा धेरै वित्तीय चुनौती बेहोर्नुपर्ने, वित्तीय तनाव झेल्नुपर्ने हुन्छ । यस्ता कुरामा मुलुक गम्भीर हुनु अवश्यक देखिन्छ । अबको समाजमा वित्तीय साक्षरतालाई पनि आधारभूत विषयको रुपमा कक्षाको पाठ्यक्रममा समावेश गर्न जरुरी छ । पैसा कमाउन भन्दा पनि त्यसको व्यवस्थापन निकै कठिन र चुनौतीपूर्ण हुन्छ । वित्तीय विषयका बारेमा घरबाट÷अभिभावकबाट जानकारी नहुने र विद्यालयमा पनि वित्तीय शिक्षा नहुँदा ठूलो उमेरसम्म पनि बालबालिकामा वित्तीय स्रोतको सही प्रयोगका बारेमा आत्मविश्वास हुँदैन ।
बालबालिका तथा युवामैत्री वित्तीय शिक्षा कार्यक्रम विभिन्न देशका कैयौं बैंक, वित्तीय संस्था तथा युवा तथा बालबालिकाहरुको हक हितसँग सम्बन्धित संस्थाहरु, सञ्चार माध्यमले स्वतः स्फूर्त स्वरुप तर्जुमा तथा कार्यान्वयन गर्दै आएका छन् तर नेपालको सन्दर्भमा भने यस्ता विविध कार्यक्रमहरु यदाकदा सञ्चालन भएपनि प्रभावकारीता न्युन देखिन्छ । बालबालिकाले सानैदेखि पैसा के हो, यो कहाँबाट आउँछ ,कहाँ खर्च हुन्छ ? भन्नेबारेमा थाहा पाउनुपर्छ । उनीहरूमा पैसा बचत गर्नुपर्छ, सोच विचार गरेर र योजना बनाएर मात्र खर्च गर्नुपर्छ भन्ने जानकारी हुनु आजको आवश्यकता हो । आम्दानी खर्चको हिसाब राख्न र विभिन्न वित्तीय सेवाका बारेमा जानकारी लिनु, त्यसबाट हुने फाइदाका बारेमा बालबालिकालाई पनि जानकारी हुनुपर्छ ।
तहगत हिसाबमा विद्यार्थीलाई प्राथमिक तहमा पैसा र यसको महत्व, पैसा आउने माध्यम र खर्च हुने शीर्षक, आवश्यकता र चाहना, बचत र यसको महत्त्व आदि कुरा सिकाउनु जरुरी हुन्छ । माध्यमिक तहमा वित्तीय लक्ष्यको निर्धारण, आम्दानी र खर्चको योजना, वित्तीय लक्ष्यको आधारमा बचत, आम्दानी खर्चको अभिलेख, खर्चको वर्गीकरण÷प्राथमिकीकरण, बैंक तथा वित्तीय संस्थाले दिने सेवा र तिनका फाइदा, बीमा, सेयर बजार, विद्युतीय बैंकिङ्गका विधि आदिका बारेमा जानकारी दिनु आवश्यक हुन्छ ।
उसो त वित्तीय शिक्षा/साक्षरतालाई औपचारिक पाठ्यक्रममा समावेश गर्ने सोच र प्रयास पनि सरकारबाट भएका छन् तर कार्यान्वयनको तहसम्म आइपुगेको देखिदैन । त्यसैले परिवारको आर्थिक सम्पन्नतासँग प्रत्यक्ष सरोकार राख्ने वित्तीय साक्षरता/शिक्षाजस्तो विषयलाई औपचारिक शिक्षामा समावेश गर्ने कार्यमा सरकारले जोड दिनुपर्छ । यसै सन्दर्भमा कुरा गर्दा ओरियन्ट कलेजका प्रध्यानाध्यापक प्रेम प्रसाद नेपालले बालबालिकामा पैसाको व्यवस्थापनबारे अभिभावकले चासो देखाउनुपर्ने बताएका छन् । उनी भन्छन ‘सानै उमेरदेखी नै पैसाको बिषयमा बच्चाहरुलाई थाहा हुन्छ, तर त्यो पैसाको व्यवस्थापन कसरी गर्ने भन्ने बारे अभिभावकले बुझाउन सकेको देखिदैन ।’ बालबालिकालाई चित्त बुझ्दो सिकाईको अभावले पनि बालबालिकामा यस्तो शिक्षाको कमि देखिएको नेपालले बताएका छन् । त्यस्तै, त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिकशास्त्र संकायकी डिन, प्रा.डा. कुसुम शाक्यले उमेरअनुसार वित्तीय साक्षरता दिन आश्यक रहेको बताएकी छन् । स्कुलस्तरबाटै पाठ्यक्रममा समावेश गर्न सके वित्तीय साक्षरता प्रभावकारी हुने उनी बताउँछिन ।
नेपाल सरकारका विभिन्न नीति तथा कार्यक्रम र बजेटमा वित्तीय समावेशिता, वित्तीय सारक्षरतालाई प्रभावकारी बनाउने कुरा उल्लेख छन । अर्थ मन्त्रालयले पनि वित्तीय साक्षरतालाई अभियानका रूपमा सञ्चालन गर्ने नीति लिएको छ तर कार्यान्वयन भएको देखिदैन ।
त्यस्तै, नेपाल राष्ट्र बैंकले आफ्ना कार्यक्रममा वित्तीय शिक्षा र वित्तीय पहुँच विकासको विषयलाई जोड दिएको भएतापनि दीर्घकालीन सोच नभई बेला-बेलामा गरिने केही प्रयासले मात्र वित्तीय सचेतना तथा वित्तीय पहुँच विस्तार गर्न सकिँदैन । वित्तीय साक्षरताले विद्यार्थीलाई परिवारको वित्त व्यवस्थापनप्रति उत्तरदायित्वको भावना विकास गर्छ अर्थात् वित्तीय जिम्मेवारी लिन सिकाउँछ । वित्तीय साक्षरता केवल आर्थिक पक्षसँग सम्बन्धित विषय मात्र नभई सामाजिक पक्षसँग समेत सम्बन्धित भएकाले पनि यसका बारेमा सानै उमेरदेखि विद्यार्थीलाई सिकाउनु अत्यन्तै आवश्यक छ ।
वित्तीय ज्ञानको उपर्युक्त महत्व एवम् अपरिहार्य तथा नेपालमा पनि अधिकांश बालबालिका र युवाहरु औपचारिक वित्तीय सेवाको पहुँचभन्दा बाहिर रहेका छन् । यस्तो अवस्थामा बालबालिकालाई वित्तीय पहुँचको दायरामा ल्याउन बालबालिका र युवा लक्षित वित्तीय साक्षरता सम्बन्धी अभियानको आवश्यक देखिन्छ ।
प्रतिक्रिया