नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/२३ मा ५ दशमलव १ र २०२३/२४ मा ४ दशमलव ९ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले मङ्गलबार ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । आव २०२१/२२ मा नेपालले ५ दशमलव ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान रहेको पनि विश्व बैंकले जनाएको छ ।

विश्व बैंकको अघिल्लो प्रक्षेपणको तुलनामा नयाँ प्रक्षेपणले नेपालको मात्र नभई विश्व आर्थिक वृद्धिदरमा समेत सङ्कुचन आउने देखाएको छ । नयाँ प्रक्षेपणअनुसार सन् २०२३ मा विश्व आर्थिक वृद्धिदर १ दशमलव ७ प्रतिशतमा खुम्चने छ । जुन अघिल्लो अनुमानभन्दा १ दशमलव ३ प्रतिशत विन्दुले न्यून हो । विश्व बैंकले छ महिनाअघि अर्थात् गत जुन महिनामा मात्र विश्व आर्थिक वृद्धिदर ३ प्रतिशत रहने अनुमान सार्वजनिक गरेको थियो । सन् २०२४ मा भने विश्व आर्थिक वृद्धिदर २ दशमलव ७ प्रतिशत रहने प्रक्षेपण छ ।

ग्लोबल इकोनोमिक प्रस्पेक्ट प्रतिवेदनअनुसार रुस–युक्रेन युद्ध र कोभिड महामारीको प्रभावलाई न्यून आर्थिक वृद्धिदरको मुख्य कारणका रूपमा हेरिएको छ । त्यस्तै, उच्च मूल्यवृद्धि, उच्च ब्याजदर, न्यून लगानी, आपूर्ति शृङ्खलामा देखिएको अवरोधलगायतका कारणले पनि आर्थिक वृद्धिदरमा गिरावट आएको विश्व बैंकले जनाएको छ ।

सन् २००९ को विश्व आर्थिकमन्दी र २०२० मा महामारीका कारण न्यून देखिएको आर्थिक वृद्धिदरपछि यस वर्ष सबैभन्दा कम आर्थिक वृद्धिदर रहेको पनि विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । “सन् २०२३ को आर्थिक वृद्धिदरको अनुमान पछिल्लो तीन दशक अवधिमा देखिएको तेस्रो ठूलो गिरावट हो । विश्व आर्थिक वृद्धिदर सन् २००९ र २०२२ यताकै यस वर्ष सबैभन्दा कम हो”, प्रतिवेदनमा भनिएको छ ।

 विश्व बैंकको प्रक्षेपणअनुसार भारतमा सन् २०२३ मा ६ दशमलव ६ प्रतिशत र सन् २०२४ मा ६ दशमलव १ प्रतिशत आर्थिक वृद्धिदर रहने छ । त्यस्तै, पाकिस्तानमा सन् २०२३ मा २ प्रतिशत र सन् २०२४ मा ३ दशमलव २ प्रतिशत वृद्धिदर रहने अनुमान गरिएको छ । त्यस्तै, बङ्गलादेशमा सन् २०२३ मा ५ दशमलव २ र सन् २०२४ मा ६ दशमलव २ प्रतिशत आर्थिक वृद्धिदर रहने विश्व बैंकको प्रक्षेपण छ ।