१९ वर्षीय किशोरले बैंकको नक्कली शाखा खोलेः ३ महिनासम्म कारोबार हुँदासमेत कसैले पत्तो पाएनन्

१९ वर्षीय किशोरले बैंकको नक्कली शाखा खोलेः ३ महिनासम्म कारोबार हुँदासमेत कसैले पत्तो पाएनन्


बैकिङ्ग समाचार ।

तमिलनाडु जिल्लाको कडलोर जिल्लाको पनरुत्ती गाउँमा करिब ८० हजार जनसंख्या छ । उक्त गाउँमा स्टेट बैंकका दुई शाखा कार्यालय सञ्चालित छन् ।

केही दिनअघि एउटा शाखा कार्यालयमा एक ग्राहकले नै शाखा प्रवन्धकसँग नयाँ शाखाको बारेमा सोधेका थिए । ‘तपाईंले बैंकको तेस्रो शाखाका बारेमा कहिल्यै भन्नुभएन त ?’ ग्राहकको यस्तो प्रश्नपछि शाखा प्रबन्धक चकित भए । उनले यस क्षेत्रमै स्टेट बैंकको दुईवटा मात्र शाखा रहेको बताए ।

ग्राहकले तेस्रो शाखाको कागजात देखाएपछि शाखा प्रवन्धक चकित भए । उनले क्षेत्रीय कार्यालयमा यसबारे सोधखोज गरे । तर क्षेत्रीय कार्यालयले कुनै शाखा नखोलिएको जनाएपछि उनीहरु कथित तेस्रो शाखा कार्यालय हेर्न गए ।

त्यहाँ पुग्दा बैंकका कर्मचारी नै चकित भए । कार्यालयको सजावट, भौतिक संरचना लगायत सबै बन्दोबस्त कुनै बैंकको जस्तै थियो । नगद जम्मा गर्ने भौचर, रबर स्टाम्प, फाइलमा बैंकको नाम प्रिन्ट भएको र नगद काउन्टरमा रकम गणना गर्ने मेसिन लगायतका सामान थिए ।

स्टेट बैंकको सक्कली शाखाको उजुरीका आधारमा प्रहरीले छापा मारेर नक्कली शाखा खोल्न संलग्न तीन जनालाई पक्राउ गरेको छ । उनीहरु मिलेर गत अप्रिलमा बैंकको नक्कली शाखा खोलेका थिए ।

नक्कली शाखा खोल्ने योजनाकार मानिएका १९ वर्षीय कमलले आमाबुवा नै बैंकका जागिरे भएका कारण आफूले सानैदेखि बैकिङ्ग कारोबारलाई नजिकबाट हेरेको बताएका छन् । पिताको मृत्यु भएको र आमाले पनि बैंकबाट अवकाश पाएपछि यसरी बैंक खोलेको उनले बताएका छन् ।

आफूले ठगीको उद्देश्यले नभई बैंक खोल्ने चाहनाका कारण यस्तो काम गरेको उनले प्रहरीसमक्ष बताएका छन् ।

तीन महिनामा उनीहरुले कति निक्षेप संकलन गरे, उक्त रकम हाल कुन अवस्थामा छ, कति मानिस ठगिए भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ ।