भावना अवस्थी, काठमाडौं ।
पछिल्लो समय विशेषगरी नयाँ पुस्ता डिजिटल बैंकिङ्गमा अभ्यस्त हुँदै गइरहेका छन । मानिसहरुले जानी-नजानी तिब्र रुपमा यसको प्रयोग गरिरहेका छन । यही आवश्यकतालाई ध्यानमा राखी नबिल बैंकले गत साताबाट एन बैंक (नियो बैंक) सुरु गरेको छ । नबिल बैंकले सञ्चालनमा ल्याएको ‘एन’ बैंक मोवाइल बैंकिङ्ग एपलाई परिमार्जन गरेको डिजिटल एप हो । अथवा ‘एन’ बैंक कुनै पनि आउटलेट नभएको भर्चुअल बैंक हो । यो नेपालमै पहिलोपटक सञ्चालमा ल्याइएको बैंकले जनाएको छ । एन बैंक ग्राहकले आफ्नो साथमा रहने मोबाइल फोनको सहयोगले ‘एन’ बैंकको उपयोगमार्फत खाता खोल्ने, निक्षेप, ऋण, भुक्तानीजस्ता सबै परम्परागत बैंकिङ्ग सेवाहरू सजिलैसँग लिन सकिने बैंकका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिईओ) सुजित शाक्यले बताएका छन् ।
सम्बन्धित बैंकमा खाता नभएका सर्वसाधारणले पनि अब आफ्नो मोवाइलमा रहेको ‘एन’ बैंक एपबाट बैंक खाता खोल्न सक्ने शाक्य बताउँछन । उनी भन्छन, ‘ग्राहकहरु बैंकमा भौतिक रुपमा उपस्थित हुन कसरत हुने र बैंकका शाखाहरु धाउन लामो समय खर्चिनुपर्ने बाध्यताले ‘एन’ बैंक सुरु भएको हो । पार्किङ्ग समस्या, ट्राफिक समस्या समयको अभावले ग्राहकहरु बैंकमै धाउनेपर्ने बाध्यतामा छन । यही तमाम समस्या र सामान्य बैंकिङ्ग सेवाका लागि शाखामै उपस्थित हुनेपर्ने बाध्यतालाई नबिल ‘एन’ बैंकको प्रयोगले समाधान गर्छ भन्ने हाम्रो विश्वास छ ।’
यस्ता छन् नबिल ‘एन’ बैंकका बिशेषता
३० सेकेन्डमै खाता खोल्न सकिने
नबिल ‘एन’ बैंक एपबाट ३० सेकेण्डभित्रै ‘एन’ सेभिङ्ग खाता खोल्न सकिन्छ । खाता खोल्न ग्राहकले आफ्नो नाम, जन्म मिति, इमेल ठेगाना, मोवाइल नम्बर र नागरिकता नम्बर मात्र भए पुग्ने बैंकले जानकारी दिएको छ ।
डिजिटल ऋणको सुविधा
ग्राहकहरूले आफ्नो एन बैंक एपबाट सिधै ऋणका लागि डिजिटल आवेदन पनि दिन सकिन्छ । नबिल फोन लोन र लोन अगेन्स्ट फिक्स डिपोजिट गरी दुई प्रकारका डिजिटल ऋण लिन सकिने बैंक बताउँछ ।
‘एन’ रेमिटको व्यवस्था
नेपालभित्र पैसा पठाउने बाहेक, विदेशमा बस्ने ग्राहकहरूले एन रेमिट छनोट गरी आफ्नो मास्टर कार्ड वा भिसा कार्डहरू प्रयोग गरेर अन्तर्राष्ट्रिय बैंकहरूबाट सिधै नबिलको बैंक खातामा पैसा पठाउन सकिन्छ । पठाउने र पाउनेको विवरणहरू सहित (यूएसडीमा) पठाइने रकमसहितको फारम मात्र भरे पुग्ने शाक्यले बताएका छन् ।
अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरेर दर्ता सुविधा
विदेशमा बस्ने ग्राहकहरूले आफ्नो अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरी ‘एन’ बैंक एपमा दर्ता गर्न र आफ्नो नबिल बैंक खाता सञ्चालन गर्न सक्ने बैंकले उल्लेख गरिएको छ । बैंकिङ्ग सेवाहरूको होस्टका लागि आवेदन दिन सकिने र डेबिट कार्ड, क्रेडिट कार्ड, व्यक्तिगत ऋणको सुविधा पनि लिन सकिने बताइएको छ ।
सातै दिन, २४ सै घण्टा सेवा
बैंकले आफ्ना ग्राहकलाई बैंकको कस्टमर केयर सेन्टर र भिडियो केवाइसी मार्फत् २४ सै घण्टा सेवा प्रदान गर्नेछ । ‘एन’ बैंकको कुनै सेवा प्रयोग गर्दा आउनसक्ने समस्यालाई तुरुन्तै समाधान गर्ने ध्यायले यो सुविधा सञ्चालन गरेको बैंक बताउँछ । त्यस्तै, ग्राहकले आफ्नो एपबाट सिधैं नयाँ डेबिट कार्ड, क्रेडिट कार्ड, व्यक्तिगत ऋण जस्ता विभिन्न बैंकिङ्ग सेवाहरूका लागि आवेदन दिन सक्नुका साथै सम्पर्क शाखाहरू, एटीएमहरू ,ब्याजदर, विनिमय दर, इएमआई क्यालकुलेटर जस्ता सूचना तथा सेवाहरू पनि एकै ठाउँबाट पाउने बैंक बताउँछ । ‘एन’ बैंक संचालनको सुरुवातमै अपेक्षाभन्दा बढी नै ‘एन’ बैंक प्रयोग भएको र आगामी दिनहरुमा यसका बिषेशताहरु बढाउँदै लैजाने सिनियर डिसिईओ शाक्य बताउँछन ।
नबिल बैंकलाई यसको आवश्यकता किन पर्यो ?
नेपाली बैंकिङ्ग क्षेत्रलाई पूर्ण डिजिटल र स्मार्ट बनाउन ‘एन’ बैंकको आवश्यकता परेको बैंकका अर्का नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञावली बताउँछन । उनी भन्छन, ‘बैंकिङ्ग क्षेत्रको कारोबार गर्न बैंक नै धाउनुपर्ने भन्ने धारणा परिवर्तन गर्न र बैंकिङ्ग क्षेत्रलाई प्रविधिमा अब्बल बनाउन ‘एन’ बैंक आवश्यक छ । त्यसलै हामीहरुले यस्तो एप बजारमा ल्याएका हौँ ।’
नेपालमा पहिलो पटक सुरु भएको ‘एन’ बैंकले नबिल बैंकलाई अझ स्मार्ट र अझ प्रविधियोग्य बनाउन थप सहयोग पुग्ने उनले बताएका छन । असामान्य परिस्थितिमा पनि कर्जा प्रवाहलाई यथावत् राखी व्यवसायहरू चलायमान बनाउन डिजिटल बैंकिङ्ग महत्वपुर्ण मात्रै नभई अपरिहार्यता पनि हो ।
प्रतिक्रिया