६१ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ


काठमाडौं – ठगीमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–१ बस्ने काभ्रेपलान्चोक बनेपा नगरपालिका– २ घर भएका २० वर्षीय विशाल घिमिरे र काठमाडौं महानगरपालिका–२७ सुन्धारा बस्ने रौतहट गरूडा नगरपालिका–४ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।  

उनीहरूले विद्यार्थी भिषामा अमेरिका जान एक दिनको लागि बैंक ब्यालेन्स देखाउन आफूलाई ६१ लाख रुपैयाँ आवश्यक भएको भनी बहाना बनाई पीडितलाई झुक्याई, प्रलोभनमा पारी उक्त रकम आफ्नो खातामा पठाउन लगाई रकम जम्मा भए पश्चात अन्यत्र विभिन्न व्यक्तिहरूको खाताहरूमा सम्पूर्ण रकम रकमान्तरण गराई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको गर्नका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।