राजस्व छल्ने दुई उद्योगलाई ६ करोड ६९ बिगो कायम गरी मुद्दा दर्ता, १४ फर्मलाई ३० लाख जरिवाना

राजस्व छल्ने दुई उद्योगलाई ६ करोड ६९ बिगो कायम गरी मुद्दा दर्ता, १४ फर्मलाई ३० लाख जरिवाना


बैकिङ्ग समाचार । 
राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा दुई उद्योगविरुद्ध मुद्दा दायर गरेको छ।

विभागले श्याम ग्लास इण्डष्ट्रिज र महाशक्ति गुट्खा उद्योग विरुद्ध ६ करोड ६९ लाख रुपैयाँ बिगो कायम गरि उच्च अदालत तुल्सीपुरमा मुद्दा हालेको हो।

विभागले विगो असूल उपर गरी जरिवाना र कैद समेतको माग दावी लिई मुद्दा गरेको हो।

श्याम ग्लास इण्डष्ट्रिजलाई राजस्व चुहावट गरेको अभियोगमा ६ करोड ६ लाख २५ हजार २८२ रुपैंयाँ बिगो कायम गरी त्यो बिगो असुल-उपर गरी जरिवाना र कैद समेतको माग गरिएको छ।

श्याम ग्लास इण्डष्ट्रिजले नेपाल सरकारलाई बुझाउनु पर्ने राजस्व नतिर्ने उद्देश्य राखि उत्पादित सिसा तथा सिसाजन्य मालवस्तुमा अन्तःशुल्क असुल नगरी राजस्व चुहावट गरी राजस्व छलि गरेको आयोगको भनाई छ ।  यसैगरी महाशक्ति गुट्खा उद्योगका संचालकहरुले सरकारलाई बुझाउनुपर्ने ६३ लाख ८ हजार ७०६ रुपैयाँ चुहावट गरेको भन्दै मुद्दा दर्ता गरेको हो।

महाशक्ति गुट्खा उद्योगका संचालकहरुले नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने राजस्व नतिर्ने एव कम तिर्ने उद्देश्य राखि अन्तःशुल्क जन्य पदार्थ उत्पादित तथा विक्री वितरण गरी अन्तःशुल्क असुल नगरी राजस्व चुहावट गरेको आयोगको भनाई छ ।

त्यस्तै आयोगले मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणालीमा विल विजक प्रविष्टी नगरी कानुनको परिपालना नगरेको अभियोगमा विभिन्न फर्महरुलाई ३० लाख ७५ हजार जरिवाना समेत गरेको छ ।

काठमाण्डौमा कपडा लगायतको आयात तथा थोक विक्रि कारोवार गर्ने विभिन्‍न १४ वटा फर्महरुले व्यवसायिक प्रयोजनका मालवस्तु विक्री गर्दा मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली भिसिटिएस विवरण प्रविष्टी नगरी मालवस्तु विक्री वितरण गरेकोले उक्त फर्महरुलाई राजस्व चुहावट गरेको आयोगको भनाई छ।