ज्योति विकास बैंकको सिइओमा श्रीचन्द्र भट्ट, कसरी सफल भयो कार्यकारी बन्ने मिसन ?

ज्योति विकास बैंकको सिइओमा श्रीचन्द्र भट्ट, कसरी सफल भयो कार्यकारी बन्ने मिसन ?


 बैकिङ्ग समाचार । 
ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले राजीनामा दिएको करिव ३ महिनापछि भट्टलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो । यसअघि भट्ट आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिए ।  ज्योति बिकास बैंकमा सीइओ बन्न उनले आइएमइ लाइफ छोडेका हुन् ।  यसअघि उनी एक रेमिट्यान्स कम्पनीमा कार्यरत थिए ।  बीचमा पनि ज्योतिको सीइओ बन्न ठुलै दौडधुप गरेका उनी आफ्नो 'मिसन'मा सफल नभएपछि आइएमइ लाइफको सीइओ भएर आएका थिए ।  

\"\"ज्योति बिकास बैंकमा यसअघि पनि सीइओ बन्ने दौडमा लागेर फेल खाएका श्रीचन्द्र भट्ट यसपटक भने ज्योति बिकास बैंकको सीइओ बनेरै छोड्ने भएका हुन् । बैंकका कामु सीइओ पारस राज कंडेलको 'क्वालिफिकेसन इस्यू' देखाउँदै बैंकका अध्यक्षले पनि श्रीचन्द्र भट्टलाई नै सीइओ बनाउन जोड दिएपछि अन्तत: भट्ट ज्योतिको सीइओ हुन लागेका हुन् । यसअघि एक रेमिट्यान्स कम्पनीमा काम गरेका भट्टले यसअघि नै ज्योतिको सीइओ बन्न राम्रै दौडधुप गरेका थिए । तर उनी सीइओ भएर आएको खण्डमा मनोज ज्ञवालीले बैंक छोड्ने भएपछि चौतर्फी दबाबसँगै बैंकले मनोज ज्ञवालीलाई नै सीइओ बनाएको थियो । 

तर २ बर्ष काम गरेपछि ज्ञवालीले बैंकको जागिर छोडेपछि फेरिपनि बैंकका अध्यक्ष श्रीचन्द्रलाई नै बैंकको सीइओ बनाउन लागि परेका थिए । यसका लागि उनका लागि त्यहीं रहेका एक बरिष्ट कर्मचारी बाधक थिए । तर उनको अनुभव नै नपुग्नेगरी सीइओको माग गराएर श्रीचन्द्रलाई नै सीइओ बनाउने 'सेटिङ' गराइएको स्रोतको दाबी छ । पारश राज कंडेलको क्वालिफिकेसन इस्यु भएकाले उनी सीइओ बन्न योग्य थिएनन् । अन्तत: बैंकका अध्यक्ष आफ्नो 'मिसन'मा सफल भएका छन् ।

 बैंकको आन्तरिक कलहले सीमा नाघ्न थालेपछि ज्योति बिकास बैंकका तत्कालीन सीइओले राजिनामा दिएका थिए । उनले राजिनामा दिएकै मितिबाट एक संचालकले पनि बैंकको बोर्डको 'नियत'माथि नै प्रश्न उठेको भन्दै बैंकको संचालकबाट राजीनामा दिएका थिए । यसले बैंकको बोर्डभित्रको आन्तरिक कलह छताछुल्ल भएको थियो । हाम्रो बिकास बैंक प्राप्ति गरेसँगै झन् विभिन्न खाले समस्याहरु झेल्दै आएको बैंकको बोर्डमा हरेक पटक जसो विभिन्न कुरामा विवाद हुने गरेको थियो ।

यसो त ज्योति बिकास बैंक पछिल्लो समय धेरै प्रगति गरेको भएपनि भित्र-भित्र धेरै फाइलहरु बिग्रिएको बैंक हो । यस्तै केहि फाइलका विषयलाई लिएर तत्कालीन सीइओ ज्ञवाली र बैंकका अध्यक्षबीच विवाद भएको थियो ।  बैंकका अध्यक्षलाई पनि 'यस म्यान' चाहिएका हुनाले पनि श्रीचन्द्रलाई जसरी पनि बैंकको सीइओ बनाउन अध्यक्ष आफैं लागेका थिए ।

 श्रीचन्द्र भट्ट लामो समय बैंकिङमा 'ग्याप' भएका व्यक्ति हुन् । खासै कुनै बैंकले पनि नपत्याएपछि उनी एक रेमिट्यान्स कम्पनीमा काम गर्न थालेका थिए । ज्योतिमा सीइओ बन्ने रहरमाथि पनि तुसारापात भएपछि उनी आइएमइ लाइफको सीइओ भएका थिए ।

 यद्यपी उनलाई ज्योति बिकास बैंकको सीइओ हुन सजिलो भने छैन । बैंकर मनोज ज्ञवालीले छाडेपछि भद्रगोल बनेको बैंक सुधार्ने ठुलो चुनौती छ ।