नयाँ दिल्ली – भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा १५ जनाको मृत्यु भएको छ । आगलागी भएको होटलमा केही मानिस बच्नका लागि झ्यालबाट बाहिर र छतमा चढेर निस्किएका थिए । होटलको कोठा र छतबाट धेरै मानिसलाई उद्धार गरिएको कोलकाताका प्रहरी प्रमुख मनोज वर्माले मंगलबार साँझ आगलागी भएपछि बताए ।
‘दुई बालबालिका र एक महिलासहित मृतकको सङ्ख्या १५ पुगेको छ’, आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको जानकारी दिँदै वर्माले भने, ‘होटल ग्यास च्याम्बरमा परिणत भयो र धेरै मानिसको निस्सासिएर मृत्यु भएको देखिन्छ।’आगलागी हुँदा ८८ जना पाहुना रहेको ऋतुराज होटल कोलकाताको केन्द्रीय भागको एक भिडभाड व्यापारिक क्षेत्रमा अवस्थित छ ।
करिब एक दर्जन मानिस जलेर घाइते भएका छन् र उपचार गराइरहेका छन् । भारतमा अग्नि नियन्त्रण उपकरणको अभाव र सुरक्षा नियमहरूको नियमित उपेक्षाका कारण भवनमा आगलागी हुने घटनाहरू सामान्य छन् । गत वर्ष पूर्वी राज्य बिहारको पटनामा एक होटलमा आगलागी हुँदा छ जनाको मृत्यु भएको थियो । कोलकाताको भवनबाट आगोको ज्वालाहरूको भिडियो फिल्म खिचेको प्रेस ट्रस्ट अफ इन्डियाले ‘धेरै मानिस भवनको झ्याल र साँघुरो किनारबाट भाग्ने प्रयास गरिरहेको देखिएको थियो’ भनी रिपोर्ट गरेको छ ।
कोलकाताको द टेलिग्राफ अखबारले आगोबाट बच्न खोज्दा ‘छतबाट हामफालेका कम्तीमा एक जनाको मृत्यु भएको’ बताएको छ । वर्माले आगो निभाएको र ‘चिस्याउने कार्यहरू जारी रहेको’ बताए । प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारहरूप्रति समवेदना प्रकट गरेका छन् । ‘घाइतेहरू चाँडै निको होउन्’, विज्ञप्तिमा उल्लेख छ । एक करोड ५० लाखभन्दा बढी जनसङ्ख्या भएको कोलाकाता पश्चिम बंगाल राज्यको राजधानी हो । पश्चिम बंगाल विपक्षी तृणमूल काङ्ग्रेस पार्टीद्वारा शासित छ ।






About Us
प्रतिक्रिया