सीईओको कार्यसम्पादन मै चुक्छन् बैंक, अडिटमा चलखेलदेखि ऋण लगानीपछि गर्दैनन् वास्ता

वाणिज्य बैंकमा नै छैन कर्जाको सदुपयोगता नाप्ने प्रणाली


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको कार्यसम्पादनमा बैंक चुकेको उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागले ‘बैंक सुपरिवेक्षण रिपोर्ट, २०२३/२४’ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै केही बैंकहरूले सीईओको कार्यसम्पादन मूल्याङ्कन सम्झौताअनुसार नगरेको उल्लेख गरेको हो ।

‘सञ्चालक समितिले गरेका निर्णयहरूको कार्यान्वयन अवस्थाको समिक्षा गरिएको पाइएन भने कार्यान्वयन नभएका निर्णयहरू पुनःविचार गरिएको पनि पाइएन’ राष्ट्र बैंकले प्रतिवेदमा भनेको छ । नेपाल राष्ट्र बंैंकले बैंकहरु भण्डार व्यवस्थापनमा सुधारको आवश्यकता देखिएको बताएको छ । राष्ट्र बैंककाअनुसार चेक तथा कार्ड व्यवस्थापनमा अभिलेख राख्ने कार्यमा पनि बैंकहरु निकै पछाडी रहेका छन् ।

सामान्यतया बैंकहरुमा हुने सीसीटीभीमा ९० दिनको ‘ब्याकअप’ राख्नुपर्ने हुन्छ । तर, बैंकहरुले भने बैंकमा राखेको सिसिटिभिमा ९० दिनको पनि रेकर्ड नभेटिएपछि राष्ट्र बैंकले सीसीटीभी व्यवस्थापनमा पनि समस्या रहेको बताएको छ । यता केही शाखामा भने प्रणालीले मुद्रण गरेको भुक्तानी भौचर ‘एड्भाइस’ पनि उपलब्ध छैन ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा नै ऋणीले कर्जाको सहि सदुपयोग गरे कि गरेनन् भन्ने प्रणाली नभएको पाइएको बताएको छ । ‘केही बैंकहरूमा कर्जाको प्रयोग तोकिएको उद्देश्यअनुसार भएको छ कि छैन भनेर निगरानी गर्ने उचित प्रणाली छैन’ प्रतिवेदनमा भनिएको छ ।

अडिटमा चलखेल गर्दै बैंक

नेपाल राष्ट्र बैंकले कतिपय बैंकहरूमा अडिट कार्य प्रभावकारीरूपमा सञ्चालन गर्न आवश्यक मानव संसाधनको अभाव देखिएको बताएको छ । बैंकहरुको प्रस्तावित वार्षिक बजेटको समीक्षा गर्न बाह्य अडिटर नियुक्तिका लागि तीन अडिटरको नाम सिफारिस गर्नुपर्ने व्यवस्था प्रभावकारी रूपमा पूरा नगरेको देखिएको बताएको हो । राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था ऐन, २०७३’ र कम्पनी ऐन र नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार अडिट समितिले यस्तो गर्नुपर्ने हुन्छ ।

राष्ट्र बैंककाअनुसार केही बैंकहरूमा लेखापरीक्षणका लागि जनशक्ति अपर्याप्त छ । राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंकहरूले तीन लेखापरीक्षक सिफारिस गर्नुपर्नेमा बैंकहरुले भने एकजना लेखापरीक्षक मात्र सिफारिस गर्दै आएका छन् । बैंक तथा वित्तीय संस्था ऐनअनुसार अडिट समितिले तीन अडिटरको नाम सिफारिस गरी वार्षिक साधारण सभामा पेश गर्नुपर्ने व्यवस्था छ ।

यस्तै, बैंकहरुले लेखापरीक्षण समितिमा पनि राष्ट्र बैंकको निर्देशन पालना नगरेर लेखापरीक्षण समितिको बैठकमा पाँचजना सहभागी गराउँदै आएका छन् । राष्ट्र बैंकले बैंकहरुले नीति लेखापरीक्षण तथा सूचना सुरक्षा लेखापरीक्षण नगरेको र लेखापरीक्षण विभागले पाएको सुझावप्रति पर्याप्त निर्देशन नदिएको उल्लेख गरेको छ । केन्द्रीय बैंकले मार्गनिर्देशनअनुसार बैंकको आन्तरिक अडिटद्वारा स्वतन्त्र रूपमा मुल्याङ्कन नगरेको पनि उल्लेख गरेको छ ।

उद्धेश्यविनै ५० लाखसम्म व्यक्तिगत ऋण लगानी

नेपाल राष्ट्र बैंकलाई बैंकहरुले नमान्ने प्रवृत्ति बढ्दै गएको छ । राष्ट्र बैंककाअनुसार बैंकहरुले राष्ट्र बैंकलाई नमान्ने प्रवृत्ति बढ्दै गएको पाइएको हो । राष्ट्र बैंकले बैंकहरुले विशेष उद्देश्य नदेखाई ५० लाखभन्दा माथिको व्यक्तिगत ऋण सुविधा प्रदान गरेको बताएको छ । जबकी, बैंकहरुले ५० लाखभन्दा माथिको व्यक्तिगत ऋण सुविधा प्रदान गर्दा विशेष उद्देश्य देखाउनुपर्ने हुन्छ । तर, बैंकहरुले उद्देश्य नदेखाउँदै नेपाल राष्ट्र बैंकको निर्देशनको उल्लङ्घन गरेका छन् ।

त्यस्तै, बैंकहरूले आवश्यक ‘प्रोडक्ट पेपर’ तयार नगरी विभिन्न प्रकारका ऋण सुविधा प्रदान गर्दै आएको पनि राष्ट्र बैंकले जनाएको छ । साथै, तयार गरिएका केही प्रोडक्ट पेपरहरूलाई नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार नियमित रूपमा अद्यावधिक नगरेको राष्ट्र बैंकको भनाइ छ । त्यसैगरी, जुन उद्देश्यले ऋण लिए त्यसको विपरीत अन्य क्षेत्रमा प्रयोग गरिएका ऋणहरूलाई असल ऋणमा वर्गीकृत गरिएको समेत भेटिएको छ ।

नेपाल राष्ट्र बैंकले बैंकहरुले ऋण लगानी गरेपछि अनुगमनमा चासो नदेखाउँदा केही समस्या सिर्जना भएको बताउँदै बैंकहरुले लिलामी प्रक्रियामा गएको ऋणको लागि आवश्यक प्रावधान नछुट्याएको उल्लेख गरेको हो । यता केही बैंकहरुले भने सम्पत्तिको धितो बिना ऋण प्रवाह गर्नेगरेको समेत पाइएको छ । केन्द्रीय बैंकले आन्तरिक क्रेडिट रेटिङको प्रयोग नगर्ने गरेको भेटेको छ । बैंकहरुले अडिटेड वित्तीय विवरण पेस नगरेको, कर प्रमाणपत्र, साईट भिजिट आदि समेत नगरेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

जागीर छाड्नेहरु बढे, तनाबमा ‘म्यानेजमेन्ट’

पछिल्लो चरण बैंक तथा वित्तीय संस्थाबाट कर्मचारी पलायन हुने क्रम बढ्दो छ । विभिन्न अन्तर्राष्ट्रिय अवसरको खोजी, केही समूहद्वारा बैंकिङ्ग क्षेत्रको नकारात्मक प्रचार प्रसारका कारण धेरै कर्मचारी बैंकिङ्ग क्षेत्र छोडिरहेको राष्ट्र बैंकले पनि स्वीकार गर्दै आएको छ । बैंक विरुद्धको अभियान, धम्की, कर्मचारीमाथिको आक्रमण जस्ता गतिविधिहरूले बैंकिङ्ग प्रणालीमाथि गरिने विश्वास र कार्य सम्पादनमा अवरोध ल्याइरहेको छ ।

यसले जनशक्ति रोकथाममा पनि गम्भीर समस्या सिर्जना गरेको राष्ट्र बैंक बताउँछन् । त्यस्तै, राष्ट्र बैंकले पछिल्लो समय बैंकको माध्ययमबाट हुने ठगीको घटना पनि बढेको बताएको छ । ‘फेक’ धितो, ग्राहकको निक्षेपको दुरुपयोग, ऋणको दुरुपयोग, मुल्यांकनमा बेइमानी जस्ता ठगीका घटना बढेका छन् । जसलाई मध्यनजर गर्दै पारदर्शिता, सुशासन र कर्मचारी सीप अभिवृद्धिमा ध्यान दिनु जरुरी रहेको राष्ट्र बैंकको ठम्याइँ रहेको छ ।

डिजिटल बैंकिङ्गमा न्यून लगानी

बैंकिङ्ग क्षेत्रले डिजिटल बैंकिङ्गमा फड्को मारेको छ । बैंकका अधिकांश विवरण डिजिटल माध्ययमबाट नै पाउने गरिन्छ । तर, कतिपय बैंकमा आजसम्म पनि लगानी र बिक्री विवरण हातैले राख्ने गरेको पाइएको राष्ट्र बैंकको रिपोर्ट बताउँछ । राष्ट्र बैंकले ब्याजदर जोखिम तथा विदेशी विनिमय जोखिम व्यवस्थापनको नीति नै नबनाउने बैंकहरुपनि रहेको बताउँदै ब्याजदर उतारचढावको प्रभावको विश्लेषण नगरेको पाइएको उल्लेख गरेको छ ।

बैंकहरुले आकस्मिक वित्त योजना बाह्य जोखिमहरू जस्तै महामारी, प्राकृतिक प्रकोप लगायतका विषयलाई तरलता जोखिममा समेटेका छैनन् । यता डिजिटल बैंकिङ्गको साथै साइबर सुरक्षा, तत्थांङ्क गोपनीयता आदी जोखिम बढेको छ । जसको असरलाई कम गराउँन राष्ट्र बैंकलेले वित्तीय साक्षरता र कर्मचारी प्रशिक्षणमा जोड दिएको बताएको छ ।