पुष्पलाल लोकमार्गका इन्जिनियर शाक्यले २ करोड २५ लाख भष्ट्राचार गरेको आरोप, अख्तियारले समात्यो

पुष्पलाल लोकमार्गका इन्जिनियर शाक्यले २ करोड २५ लाख भष्ट्राचार गरेको आरोप, अख्तियारले समात्यो


 बैकिङ्ग समाचार । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपहाडी पश्चिम (पुष्पलाल) लोकमार्ग सडक आयोजना तुल्सीपुर दाङ्गमा कार्यरत सि.डि.ई. जितेन्द्र राज शाक्यउपर २ करोड २५ लाख ४ हजार बिगो दाबी माग गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

शाक्य समेतको मिलेमतोमा १०५ वटा नक्कली कोटेशन बनाई पाँच करोडभन्दा बढी हिनामिना गरी अकूत सम्पत्ति आर्जन गरेकोले निजको सम्पत्ति समेत छानबिन गराई पाउँ भन्ने उजुरीमा अख्तियारले अनुसन्धान थालेको थियो।

शाक्यले सार्वजनिक सेवामा प्रवेश मिति २०३४ साउन देखि २०७६ असार ३१ सम्मको जाँच अवधिमा १ करोड ५६ लाख ६ हजार ४८० रुपैयाँ बैध आर्जन गरेको देखिएको जनाइएको छ। यस अवधिमा उनले ३ करोड ८१ लाख १० हजार ४९० रुपैयाँ लगानी तथा खर्च गरेको देखिएको छ।

जसमा २ करोड २५ लाख ४ हजार रुपैयाँ स्रोत नखुलेको सम्पत्ति निजले गैरकानूनी रुपमा आर्जन गरेको स प्रमाण पुष्टि हुन आएकोले जितेन्द्र राज शाक्यले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको प्रमाण पुष्टि हुन आएको अख्तियारले जनाएको छ।

शाक्यले पदको दुरुपयोग गरी  गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरु निजले आफू लगायत श्रीमती मिथिला शाक्यका नाममा जग्गा खरिद तथा बैंक वित्तीय संस्थाहरूमा नगद जम्मा, छोरीहरू ज्योत्सना शाक्य र उन्नती शाक्यको विदेश तथा स्वदेशमा अध्ययनमा खर्च, शेयर खरिद, सवारी साधन खरिद, बैंकमा मुद्दती खाता खोली रकम जम्मा गरेको भेटिएको छ।