सक्नेले कर्जा तिर्नुहोस, नसक्नेले समय पाउनुहुन्छः गभर्नर अधिकारी

सक्नेले कर्जा तिर्नुहोस, नसक्नेले समय पाउनुहुन्छः गभर्नर अधिकारी


 बैकिङ्ग समाचार ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सकेसम्म ऋणीले असार मसान्तभित्रै ऋणको साँवा र ब्याज भुक्तानी गर्न आग्रह गरेका छन् ।

नेपाल राष्ट्र बैंकद्वारा बिहीबार आयोजित आगामी मौद्रिक नीतिमा सरोकारवालाहरुको सुझाव सम्बन्धी वेवनारमा बोल्दै गभर्नर अधिकारीले कोरोनाको कारण सबै क्षेत्र प्रभावित भएको हुँदा आय आर्जन हुने तथा सक्नेले बैंकको किस्ता समयमा नै भुक्तानी गर्न आग्रह गरेका हुन् ।

‘सक्नेले असार मसान्तभित्रै अहिलेसम्म तिर्नुपर्ने साँवा र ब्याज तिर्नुस्, योबेला सबैलाई समस्या परेको छ,’ उनले भने, ‘नसक्ने ऋणीलाई राष्ट्र बैंकले आवश्यक थप व्यवस्था मौद्रिक नीतिमार्फत् गर्नेछ ।’

असहज परिस्थितिलाई ध्यानमा राख्दै बैंकहरुले अनावश्यक दवाब नदिएको हुँदा सम्भव भएसम्म समयमा सबै ऋणीहरुले साँवा ब्याज भुक्तानी गर्नुपर्ने उनको भनाइ छ ।

राष्ट्र बैंकले कोभिडको प्रभाव र प्राप्त सुझावको अध्ययन गरेर आगामी मौद्रिक नीति साउनको पहिलो साताभित्र नै सार्वजनिक गर्ने गभर्नर अधिकारीले बताए ।

‘सबैले आपेक्षा गरेकोभन्दा बढी राहत मौद्रिक नीतिले व्यवस्था गर्नेछ,’ उनले भने, ‘सबै क्षेत्रलाई समेटेर बचाउने नीति आउँछ ।’

हाल देशको अर्थव्यवस्था सुधारोन्मुख हुँदै गएकाले कुनै पनि क्षेत्र आत्तिन नपर्ने उनले बताए ।

निजी क्षेत्र, बैंकर तथा अन्य सरोकारवाला निकायले राष्ट्र बैंकले हाल कोभिडले पारेको प्रभावलाई मध्यनजर गरी आगामी मौद्रिक नीति असार मसान्त अगाडि नै सार्वजनिक गर्न सुझाव दिएका थिए ।